
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
सोमबार ८ गते राजनीति, सुरक्षा अपराध, धर्म, अर्थतन्त्रलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ । सोमबार पनि १०० किलो सुन तस्करी, ललिता निवास सार्वजनिक जग्गा प्रकरण, भुटानी शरणार्थीसँग सम्बन्धित समाचार मुख्य बने । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले बोलेका कुरा मुख्य समाचार बने । यी बाहेक पशुमा देखिएको लम्की स्कीन रोग, बाढीपहिरो, कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने, डेंगुको महामारीका साथै केही नेताहरुका अभिव्यक्ति पनि सोमबार मुख्य मुख्य समाचार बने ।
०००
कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताए । उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे । उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए ।
०००
अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् । मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको बताए । उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए । उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए ।
०००
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताए । उनले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे । मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरुले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताए । उनले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाए ।
०००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन् । सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए । उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए । महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए ।
०००
औषधी पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधी पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायी सहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुव्र्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नुपरेको थियो । औषधी व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो ।
०००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए । उनले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए ।
०००
कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधीन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् ।
०००
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए ।
०००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सो प्रतिक्रिया दिएका हुन् । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुसीको कुरा भएको बताए । भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भएपनि त्यसलाई वर्तमान सरकारले अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरे ।
०००
शहीद स्मारक ‘ए’ डिभिजन क्लव मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ । मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते सुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले तयारी थालेको हो । सोमबार दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गर्दै क्लबले उक्त छनोट खेलका लागि अभ्यास सुरु गरेको जनाएको छ ।