सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं— सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।
गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
बिहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ ०८:२६