News Griha :: न्यूजगृह
यातायात व्यवसायीको गुनासो- काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन

काठमाडौं— काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच बिहीबार भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानसमेत अस्वाभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराए । उनले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताए ।

उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्न नसक्दा निजी सवारीसाधन अस्वाभाविक रूपमा बढेको र यसले ट्राफिक व्यवस्थापन प्रभावित बनाएको तर्क गरे । उनले विद्युतीय सवारीसाधनको वृद्धिसँगै सोहीअनुसारका संरचना निर्माण नभएकामा चिन्ता व्यक्त गरे ।

यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुर अगुवाहरूले उपत्यकालगायत देशभरको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, अनावश्यक रूपमा यातायात मजदुरले दुःख पाइरहेको बताएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरीको कारबाही गर्ने कुनै उद्देश्य नभएको बताउँदै चालक आफैँ सचेत हुनुपर्नेमा जोड दिए । उनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा कार्यालयले विशेष ध्यान दिएको बताए ।

प्रमुख घिमिरेले ट्रापिक कारबाहीभन्दा ट्राफिक चेतना तथा सडक सुरक्षालाई प्राथमिकता दिएको बताउँदै अब प्रविधिको अधिकतम प्रयोग गर्न थालिएको जानकारी दिए । ट्राफिक नियम मिच्नेलाई अफिसबाटै हेरेर कारबाही गर्न थालिएको र आगामी दिनमा हरेक कामका लागि ट्राफिकमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी काम भइरहेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०४:३०
Weather Update