
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाबीच सवालजवाफ भएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको दस्तावेज भएको आरजुले शुक्रबारको बैठकमा बताएकी थिइन् ।
आरजुले भनेकी थिइन्,‘महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज हुन्छ भन्ने सोचेकी थिएँ तर यो राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको दस्तावेज जस्तो देखिएको । धेरै कार्यक्रमहरू गर्ने तर कार्यक्रमको उपलब्धि के हो त, त्यो स्पष्ट भएन ।’
आज सोमबारको बैठकमा बोल्दै महामन्त्री थापाले आरजुलाई जवाफ फर्काएका छन् । थापाले विधानअनुसार समयबद्ध काम गर्न वार्षिक कार्यतालिका (प्रतिवेदन) केन्द्रीय समितिमा पेश गरेको बताए ।
आफूले केन्द्रीय समितिमा पेश गरेको कार्ययोजनालाई केही केन्द्रीय सदस्यले एनजीओको विसलिष्ट भनेको पनि थापाले बताए ।
महामन्त्री थापाले आरजुको नाम नलिई भने,‘केही विद्वान साथीहरूले यो एनजीओको विसलिष्टजस्तो छ पनि भन्नुभयो । एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव त छैन ।’ उनले पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको पनि बताए ।