
काठमाडौं— मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी प्रमुख अमृत पोखरेलले आत्महत्या गरेपछि आफन्त न्याय माग्दै धर्नामा बसेका छन् ।
गत असार २९ गते बिहान अस्पतालमा नै झुण्डिएको अवस्थामा पोखरेल फेला परेका थिए । उक्त घटनाको छानबिन भइरहेको छ । पोखरेलले लेखेको सुसाइट नोटमा औषधि खरिदमा भएको अनियमिततामा आफूलाई षड्यन्त्रपूर्वक फसाउँन खोजिएको उल्लेख गरेका थिए ।
लगत्तै मृतकका आफन्तको जाहेरी परेपछि मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन कसूरमा परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई नियन्त्रणमा लिएको छ ।
छानविन जारी रहँदा पोखरेलका आफन्तले सोमबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । मृतककी जेठी सासु मञ्जु पराजुली आफ्नो ज्वाइँ अन्यायमा परेको बताउँछिन् । उनले भनिन्, ‘उहाँ धेरै नै शालीन व्यक्ति हुनुहुन्थ्यो । कसैले पनि यसरी अन्यायमा पारेर उहाँको भावनासँग खेल्न पाउदैनन् । यसमा हस्पिटल प्रशासन जिम्मेवार हुनुपर्छ । ’
यस्तै मृतकको मामा ससुरा घनश्याम बस्यालले प्रशासनिक दबाब सहन नसकेर आत्महत्या गरेको दाबी गरेका छन् ।
उनले भने, ‘टिचिङ हस्पिटलको मनमोहन कार्डियो स्टोरमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई दुई महिना सम्मको प्रशासनिक दवाव सहन नसकेर प्रशासनको स्टोर भित्रै आत्महत्या गर्नु भयो । सोही अनुसारको कारवाही हुनुपर्यो । पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्यो ।’
धर्नामा बसेकी मृतककी भाउजू रीमा आचार्य पोखरेल छानविन निष्पक्ष होस् भन्ने माग गर्दै आफूहरू धर्नामा बसेको बताइन् ।
घटना अनुसार फार्मेसीमा औषधि बिक्रीको हिसाबमा भएको गडबडी पछि यो अवस्था उत्पन्न भएको थियो । फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग चर्किएको छ । नेपाल फार्मेसी एसोसिएसनले पनि एक विज्ञप्ति निकाल्दै फर्मासिस्ट अमृत पोख्रेललाई आत्महत्या गर्न बाध्य बनाउने दोषीहरूलाई कडा कारबाहीको माग गरेको थियो ।