
गोरखा— सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेशम कीराको खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थितज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम कीराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषि शाखाका ऋषि रोकाले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूह मार्फत रेशम कीराको खेती गर्न सुरु गरेको उनले बताए । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्याउने उद्देश्यले फलामका ‘र्याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ,’ शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ ।’
‘पहिलोपटक उत्पादन थाल्दा पाँच किलो मात्र कोकुन उत्पादन भएको थियो,’ उनले भने, ‘यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ ।’ धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए । धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी पाँच हजार रुपैयाँमा बिक्री हुनसक्ने उनको भनाइ छ ।
फार्ममा यस पटक ६० हजार रेशम कीरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताइन् । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ,’ उनले भनिन्, ‘लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।’ कीरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे कीरा हालेर उत्पादन लिन सकिने उनले जानकारी भनिन् ।
‘रेशम कीरा पाल्नका फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ,’ उनले भनिन्, ‘घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।’ करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पुर्याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उनको भनाइ छ ।
समूहले रेशम कीराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उनले जानकारी दिए । रेशम कीराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उनले बताइन् । उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उनले बताइन् ।
यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०/३५ केजी अनुमान गरिएको कोकुन घटेर आठ केजी मात्र भएको उनको दुःखेसो छ । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दै आएको छ ।