
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताए । उनले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको उल्लेख गरे ।
उनले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताए । उनले कानुन सबैका लागि बराबर हुने बताए ।
उनले भने, ‘उद्योग व्यवसायी परे भने हामीले त कर तिरेका छौँ, राज्य चलाउन सहज बनाएका छौँ, हामीलाई पनि गर्ने ? भनेर आवाज उठाउँछन् । कर्मचारी परे, कर्मचारीलाई कहाँ कारबाही गर्न पाइन्छ भन्छन्, अनि कसलाई गर्ने, त्यही शक्ति नभएकालाई कारबाही गर्ने ? धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई एउटा कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन, राजनीतिक नेताहरूलाई एउटा कानुन अनि राजनीतिमा नरहेकालाई अर्को कानुन हनु सक्दैन । कानुन सबैका लागि समान हुन्छ ।’
मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए ।