
काठमाडौं— नेकपा एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन् । पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए । उनले भ्रष्टाचार अहिले सङ्घदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको दाबीसमेत गरे ।
उनले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताए । पाण्डेले अनियमिततामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डको बारेमा संसद्मा मैले नै पहिलो कुरा उठाएको हो । त्यो बेला प्रतिपक्ष दलका प्रमुख सचेतकले हाम्रा नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो । अपराध गर्ने मान्छे अपराधको नजरमा सांसद मन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्छ भनेको थिएँ । आज त्यो भुटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्लै छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन । यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ ।’
उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए ।