News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ? 

काठमाडौं— लहरो तान्दा पहरो गर्जिन्छ भने झैँ नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यस्तै भइरहेको छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण बहालवाला सचिव टेकनारायण पाण्डेसहित १४ जना पक्राउ परेका छन् । अझै केही आरोपित फरार छन् । घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसरले गरिरहेको छ । प्रहरीसँग समय पनि कम छ ।

परिसरले अनुसन्धानको लागि आरोपितलाई ६० दिन मात्र हिरासतमा राख्न पाउँछ । त्यसपछि मुद्दा अदालतमा जान्छ । प्रहरीको ६० दिनको समय १२ जेठसम्मको हो । प्रहरीसँग केही दिन मात्र बाँकी छ ।

अनुसन्धानको लागि प्रहरीलाई समय कम भएकोले यो प्रकरणमा जोडिएका सबै पक्राउ पर्ने वा पक्राउ परेकाहरू पनि धरौटी वा सामान्य तारिखमा रिहा हुने सम्भावना छ । यो प्रकरणमा अझै केही हाई प्रोफाइल व्यक्तिको संलग्नताको कुरा आइरहेको छ । जस्तो कि नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी, प्रतिनिधि सभा सदस्य आरजु राणा ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य मञ्जु खाण । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरू विरुद्ध प्रहरी अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा मुछिएको देखिए प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्छ तर, समय एकदमै कम छ । प्रहरी अनुसन्धानमा धमाधम नेताहरूको नाम जोडिन थालेपछि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिनुपर्ने थियो भन्ने धेरैको विश्लेषण थियो । तर भएन । जटिल र गहन प्रकृतिका अपराधको साथै आम सरोकारका घटनाहरूको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीको हो । 

घटनाक्रम र अनुसन्धानबाट के देखियो ? 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनेर गिरोहले २०७७ सालदेखि ठगी धन्दा चलाइरहेको पाइएको छ । सुरुमा यो उजुरी २०७९ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो ।

उजुरीको लामो समयपछि प्रहरीले १२ चैत २०७९ मा ललितपुरका ५० वर्षीय सानु भण्डारी, मोरङका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरका ४५ वर्षीय टङ्ककुमार गुरुङलाई ललितपुर धापाखेलबाट पक्राउ गरेपछि अन्य आरोपित पक्राउ परेका हुन्  । उनीहरूको बयानका आधारमा प्रहरीले १५ चैत २०७९ मा मोरङका ४४ वर्षीय सागर राईलाई पक्राउ गर्‍यो ।    

गिरोहले शरणार्थी बनाइ अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीको नाम दर्ता गर्ने फारम भर्न लगाएका थिए । भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फारम भराइएका सबै व्यक्ति नेपाली नागरिक हुन् । यो बापत गिरोहले प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ असुले ।

गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ रहेको भन्दै पीडितलाई प्रलोभनमा पार्थे । त्यस्तै, शतप्रतिशत काम हुन्छ भन्दै पीडितलाई आश्वस्त पार्न गिरोहले गृह र श्रम मन्त्रालय तथा शरणार्थीसँग सम्बद्ध निकायसँग सम्बन्धित पत्र,  निर्णय, पत्रपत्रिका र अनलाइनमा आएका फोटो तथा समाचार र शरणार्थी समस्या हेर्ने निकायका कर्मचारीको सरुवा सम्बन्धी समाचार सेअर गर्थे ।  

यतिमात्र होइन पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै बायोमेट्रिक गर्नुपर्ने बहानामा पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायत स्थानमा पटकपटक बोलाउथे । 

काम नभए पैसा फिर्ता भन्दै गिरोहले पीडितलाई चेकसमेत दिएका थिए । तर, ग्यारेन्टीको रूपमा दिइएको चेक नक्कली निस्कियो । पैसा नभएको खाताको चेक गिरोहले दिएको थाहा पाइएपछि अमेरिका जाने नाममा आफूहरू ठगिएको महसुस पीडितले गरे । त्यसपछि उनीहरूले पैसा फिर्ता गर भन्दै गिरोहलाई दबाब दिन थाले  । तर, गिरोहका सदस्यले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको पीडित बताउँछन् ।

ठगी भएको रकम सङ्कलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडितमध्ये १० जना भन्दा बढीको नाममा गृह मन्त्रालयको नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको छ ।

यसरी प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने खेलमा तत्कालीन गृह मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यकोसमेत मिलेमतो रहेको आशङ्कामा प्रहरीले थप अनुसन्धान गर्दा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । 

अहिलेसम्म गिरोहका नाइके मानिएका सन्देश शर्मासमेत पक्राउ परिसकेका छन् । गिरोहले कास्की, दाङ, मोरङ, रुकुम लगायतका जिल्लाका व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गरेको पाइएको छ ।

पक्राउ पर्नेहरू 
केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी। 

पक्राउ पुर्जी जारी भएका  
इन्द्रजित राईका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:१२
Weather Update