काठमाडौं— नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसचिव टेकनारायण पाण्डेलाई भेटेकी छन् । यस प्रकरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको समेत नाम मुछिएपछि सोधपुछको क्रममा आफ्नो नाम नलिन आग्रह गर्दै पाण्डेलाई भेट्न गएको स्रोतले बताएको छ ।
पाण्डेलाई प्रहरीले सिंहदरबार वृत्तमा अनुसन्धानका लागि हिरासतमा राखेको छ । ‘पाण्डेलाई अनुसन्धानको क्रममा आफ्नो नाम नलिन आरजुले दबाब दिइरहेकी छन्,’ स्रोत भन्छ, ‘त्यही सिलसिलामा हिरासतमा रहेका पाण्डेलाई आरजुले गोप्य रूपमा भेटेकी हुन् ।’
केही दिन अगाडि मात्रै सार्वजनिक अडिओमा नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै आरजुले साढे २ करोड र मन्जु खाणले साढे ६ करोड रुपैयाँ लिएको खुलेको थियो । अडिओ सार्वजनिक भएपछि संसद्मा बोल्दै आरजुले आफूले केही काम नबिराएकोले गर्दा नडराउने बताएकी थिइन् ।
यो प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले मङ्गलबार मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरिसकेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालतबाट म्याद थप गरिसकेको छ भने अन्य आरोपित नेताहरूलाई समेत प्रहरीले चाँडै अनुसन्धानका लागि पक्राउ गर्ने भित्री तयारी गरिरहेको छ ।
पक्राउ पुर्जी सार्वजनिक गरी अनुसन्धानका लागि पक्राउ गर्न खोज्दा यसअघि नेकपा एमाले सचिव टोपबहादुर रायमाझी फरार भएपछि प्रहरीले अहिले अर्कै रणनीति अपनाएको छ । मङ्गलबार बालकृष्ण खाणलाई पक्राउ गर्दा पनि प्रहरीले ‘जरुरी पुर्जा’ थमाएको थियो । आरोपितलाई पक्राउ गर्नका लागि प्रहरीले ‘जरुरी पुर्जा’ थमाउने रणनीति लिएसँगै कुनबेला को समातिन्छन् ? भन्ने विषय अहिले निकै चासोका साथ हेरिएको छ ।