News Griha :: न्यूजगृह
हिमालय टेलिभिजनले सुरु गरेको ‘कसम’ पत्रकारिता

प्रश्नकर्ताः यति धेरै अध्ययन गरेको आरजु देउवा पनि राजनीतिक शक्तिको आडमा किन आफूलाई नै बदनाम हुन यी विषयमा जोडिनुभएको ? 

आरजुः हैन, तपाईंलाई साँच्चै लाग्छ कि मैले गरेको छु । मैले गरेकै छैन ।

प्रश्नकर्ताः आत्मालाई साक्षी राखेर भन्नुस् त ?

आरजुः मेरो आत्मा होइन, म मेरै छोराको कसम खाएर भन्छु, मैले गरेको छैन । बिकज आई एम नट द्याट स्टुपीड (किनकि म त्यस्तो मूर्ख छैन) ।  

प्रश्नकर्ताः एक चोटि भन्नुस् त ? म मेरो छोरो जयवीरको कसम खाएर भन्छु....

आरजुः म मेरो छोरो जयवीरको कसम खाएर भन्छु..

प्रश्नकर्ताः भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन । 

आरजुः भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन । 
 

काठमाडौं— माथि उल्लेखित कुराकानी हिमालय टेलिभिजनका न्यूज चिफ एवम् कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी नेपाली कांग्रेस सांसद आरजु राणासँग स्टुडिओ मै बोलाएर यक्ष प्रश्न कार्यक्रममा गरिएको संवादको एक अंश हो । नक्कली शरणार्थी प्रकरणमा आरजुलाई पनि रकम दिएको दाबी गरिएको अडिओ सार्वजनिक छ । यद्यपि, आरजुले उक्त अडिओ नक्कली भएको दाबी गरेकी छन्  । अडिओ प्रकरणबारे अनुसन्धान गर्न आरजु आफैले पनि प्रहरीमा उजुरी दिएकी छन् ।  

उक्त संवादको अंश दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ । उक्त कुराकानीलाई लिएर कार्यक्रम सञ्चालक बानियाँ र आरजुविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेका छन् । खासगरी पत्रकारिताको धर्म, आचारसंहिता र सिद्धान्त विपरित कार्यक्रम भएको भन्दै प्रस्तोतामाथि प्रश्न उठेको छ ।

आफ्ना अभिव्यक्तिहरू साझा गर्ने सामाजिक सञ्जालमा पत्रकारिता पेशामा आवद्ध, बुद्धिजीवी तथा आम नागरिकले ‘कसम’ पत्रकारिता भन्दै बानियाँको पत्रकारितामा सवाल उठाएका छन् ।  

पत्रकारिताका प्रशिक्षक एवम् मिडिया अनुसन्धानकर्ता लक्ष्मण डी पन्तले फेसबुकमा लेख्दै वर्षौ कार्यक्रम चलाएपछि त पत्रकारिताको न्यूनतम मूल्य बुझ्न सुझाव दिँदै टिप्पणी गरेका छन् । उनको स्ट्याटसमा भनिएको छ, ‘वर्षौ टेलिभिजन शो चलाएपछि त पत्रकारिताका न्यूनतम मूल्य बुझ्नु नि हो सेलिब्रेटी ब्रोहरु ! भ्रष्टाचारको मुद्दामा सन्दिग्ध व्यक्तिबारे सके खोजमूलक समाचार बनाउने, नसके चुप लाग्ने ! योजनाबद्ध तरिकाले सन्तानको नामै किटेर कसम खुवाएर अन्तर्वार्ता किन गर्नु ?’ 

वाम विश्लेषक मुमाराम खनाल माइक्रोब्लगिङ साइट ट्वीटरमा व्यङ्ग गर्दै लेख्छन्, ‘आगामी लोक सेवा आयोगको प्रश्नः घुस लिने र दिने राष्ट्रका शत्रु हुन्’ भने ‘छोराको कसम खाने र छोराको कसम खुवाउने’ चाँहि को हुन्?’ 


कथाकार आन्विका गिरी ट्वीटमा लेख्छिन्, ‘नेपालको पत्रकारिता तथ्यमा होइन, छातिमा हात राखेर कसम खानेबाट सन्तानको कसम ख्वाउने पुगेछ ! तैट !’ 

पैताला उपन्यासका लेखक गनेस पौडेलले लामो ट्वीट लेख्दै झुटो कसम खाएर आमाको ममताको मनोविज्ञान बेचेको भन्दै बानियाँमाथि प्रश्न तेर्स्याएका छन् । उनले ट्वीट गर्दै भने, ‘एउटी आमाले हजारौँ गल्ती गर्न सक्छे तर आफ्ना सन्तानको कसम खाएर झुट बोल्न सक्दिनँ !’ भन्ने मनोविज्ञान बेचेर इमोसनल ब्ल्याक मेलिङ गर्न खोज्ने पत्रकार महोदय सुन्नुस्– ‘भ्रष्टाचारभन्दा ठुलो अपराध अर्को छैन । सबैभन्दा ठुलो अपराध गरिसकेपछि अरु झिनामसिना पाप गर्न कुनै आइतबार हुँदैन । जसरी मान्छे नै मारिसकेको मान्छेलाई मुसा कमिला मार्न कुनै सकस हुँदैन ।’ उसै पनि अपराध मनोविज्ञान आफैँ भन्छ– ‘एउटा अपराध गरिसकेपछि त्यसलाई ढाकछोप गर्न अपराधीले पहिलेभन्दा ठुल्ठुला अपराध गर्न थाल्छ ।’ 

 

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न ऋषिकेश दाहालकाअनुसार साधारणतयाः टक शो प्रकृतिअनुसार फरक हुन्छ तर पत्रकारितामा भने त्यस्तो हुँदैन । ‘रियालिटि शो र लाइभ शो फरक शैलीको हुन्छ । सञ्चारकर्मी मात्र भएको भए फरक पर्दैनथ्यो । तर टक शो लाई पत्रकारिताभित्र राख्ने हो भने त्यो गलत अभ्यास हो । पत्रकारितामा कसम खाइँदैन र खुवाइदैन,’ उनले भने ।

‘यदि लाइभ शोमा कसम खाएको भए पनि प्रश्नकर्ताले त्यस्तो गर्न नमिल्ने भन्दै फरक शैलीमा प्रश्न गर्दै त्यस्ता गतिविधि पन्छाउनुपर्छ,’ उनले थपे, ‘रेकर्डेड कार्यक्रममा त्यस्ता प्रश्न र उत्तर सम्पादन नगरी राखिनु झनै गलत हो । तर नेपाली टेलिभिजन पत्रकारितामा यस्तो अभ्यास हुँदै आएको छ ।’ 

उनकाअनुसार बहुलवाद विश्वास गर्ने समाजमा कुनै व्यक्तिलाई आरोप लाग्यो भन्दैमा उसलाई कार्यक्रममा नबोलाउने भन्ने हुँदैन । ‘तर अभिव्यक्ति स्वतन्त्रताको नाममा एउटै पक्षलाई मात्र स्थान दिने र उसका पक्षका कुरा मात्र देखाउनु गलत हो,’ पहिलोपोस्ट डटकमका सहसम्पादक समेत रहेका दाहालले भने । 

आचारसंहितामा के छ ?

प्रेस काउन्सिलले पत्रकार आचारसंहिता— २०७३ जारी गरेको छ । उक्त आचारसंहिता संशोधित भई २०७६ मा पुन: जारी गरिएको छ ।

जसको परिभाषा २ को बुँदा नं. छ मा ‘पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ ।’ सो बुँदाले स्पष्ट रुपमा कार्यक्रम निर्माता वा सञ्चालक, समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई पत्रकारको रुपमा व्याख्या गरेको छ । 

rajendra baniya-arzu rana-himalay tv-press council1684148061.JPG

अब पत्रकार भइसकेपछि उसले काउन्सिलले जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्छ । जस्तो पेशागत मर्यादा तथा व्यवहार र गल्ती सच्याउन तत्परता देखाउनु पत्रकारको कर्तव्य हो । यस्तै, आचारसंहिताले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनेर केही काम तथा कर्तव्य तोकिदिएको छ । जस्तो भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, हिंसा, आतंक, अनुचित दबाब वा सम्बन्ध र अश्लीलता र अपराधलाई प्रश्रय हुने जस्ता प्रसारण तथा सम्प्रेषण गर्न नहुने उल्लेख छ । 

rajendra baniya-arzu rana-press-council1684148076.JPG

नेपाल प्रेस काउन्सिलका प्रवक्ता दीपक खनालले उक्त कार्यक्रमको संवाद बारे कुनै औपचारिक छलफल नभएको बताए । ‘मिटिङमा यसबारेमा औपचारिक छलफल भएको छैन, उनले भने, खासमा यो आचारसंहिता अनुगमन उपसमिति हेर्नुपर्ने हो ।’ उक्त अनुगमन उपसमितिमा काउन्सिल अध्यक्ष र बार एशोसियसनका प्रतिनिधि पनि सदस्य छन् । 

खनालकाअनुसार कतिपय मुद्दामा काउन्सिलले स्वअनुगमन समेत गर्न सक्छ भने कतिपयमा अरुले उजुरी दिएपछि काउन्सिलको ध्यानाकर्षण हुन्छ । भन्छन्, ‘तर यसबारेमा कसैले उजुरी दिएको छैन ।’  

यस विषयमा हामीले बानियाँसँग कुरा गर्‍यौ । पत्रकारिता अध्ययन र अभ्यास गरेको २२ वर्ष भइसकेकोले के प्रश्न सोध्ने र के नसोध्ने राम्रोसँग जानकार रहेको उनले बताए । ‘मैले आफैँले कसम खुवाउन सुरु गरेको होइन । उहाँ आफैँले कसम खाएपछि के भन्नुभयो भनेर कसम खुवाउन लगाएको हुँ,’ उनले भने, ‘फेरि पत्रकार आचारसंहितामा कसम खुवाउनुहुन्छ वा कसम खुवाउनुहुँदैन भनेर मैले कतै पढेको छैन ।’ अन्तर्वार्ता पूरा नहेरी कार्यक्रमको प्रोमो मात्र हेरेर टिकाटिप्पणी गरेको उनको आरोप छ । 

उनले आरजुलाई कार्यक्रममा ल्याउनु औचित्यपूर्ण रहेको दाबीसमेत गरे । भने, आरजु देउवाको विषयमा प्रहरीमा उजुरी परेको छैन, न त पक्राउ पुर्जी नै जारी भएको छ । उहाँ सिंगापुर पुग्नुभयो भन्ने भ्रामक समाचार आउँदा उहाँको अन्तर्वार्ता अर्थपूर्ण हुन्थ्यो, त्यसैले लियौँ ।’ बरु उक्त अन्तर्वार्ताले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने उनको भनाइ छ । ‘उहाँले प्रमाण देखाऊ हतकडी लगाउन तयार छु भन्नुभएको छ । भोलि दोषी देखिएमा यही अन्तर्वार्ताको कारणले नैतिक रुपमा उहाँलाई दबाब पर्न सक्छ र प्रहरीलाई गिरफ्तार गर्न सहज हुनेछ,’ बानियाँले न्यूजगृहसँग भने ।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:३३
समसामयिक
Weather Update