
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुआत तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको दाबी गरेका छन् ।
एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरणको सुरुआत भएको उनको दाबी छ ।
पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने,‘भुटानीका नाममा नेपाली नागरिकलाई अवैध तरिकाबाट अमेरिका पठाउने काम राष्ट्रमाथिको घात हो । नेकपा एमाले नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापन सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो । कार्यदलभित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रुपका प्रमाणिकरण गर्ने विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई दुरुपयोग गरिकन नयाँ व्यक्तिहरूको नाम सामेल गर्ने खालको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको सुरुआत भयो भन्ने कुरा स्पष्ट छ । नेकपा एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकार बनिसेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए । उनीहरूको योजनामा ठग्ने धन्दा सुरु भएको थियो ।’
उनले सो अपराधमा संलग्नहरू भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै पोखरेलले उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।