News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ?

काठमाडौं— किर्ते कागजात बनाएर आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा एकपछि अर्को राजनीतिक दलका ठूला नेताहरू नै मुछिन थालेपछि नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको भन्दै चिन्ता बढेको छ ।

बुधबार (२७ वैशाख) बिहान मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरी जिल्ला अदालत लग्यो । करोडौँ घोटाला प्रकरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी सांसद आरजु राणाको नामसमेत मुछिएको छ । खाणको गिरफ्तारीपछि उनकी पत्नी मञ्जु र सांसद राणालाई पनि पक्राउ गर्ने वातावरण मिलेको बताइएको छ ।

यसरी धमाधम ठुल्ठुला दलका नेताहरू प्रकरणमा मुछिने र पक्राउ भइरहँदा अन्तर्राष्ट्रियस्तरमा नेपालको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै बहस हुन थालेको छ । नेपाली पोस्टले माइक्रोब्लगिङ साइट ट्वीटरको स्पेसमा बुधबार ‘भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाण पक्राउ’ विषयक छलफल चलाएको थियो । विदेशमा बस्ने नेपालीहरूसमेत सहभागी भएको उक्त छलफलमा केही वक्ताहरूले यस्ता गतिविधिले नेपाल सोमालिया जस्तै अन्तर्राष्ट्रियस्तरमा अविश्वसनीय देश बन्नसक्ने खतरा औँल्याएका थिए । 

Prabhu Bank

अफ्रिकी मुलुक सोमालिया सन् २०२२ को ट्रान्सपेरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचांकमा १८० देशको सूचीमा १२ नम्बरसहित अन्त्यमा परेको थियो । युद्ध, भ्रष्टाचार र गरिबीको विषयमा अक्सर सोमालियाका समाचार आउने गरेको छ ।

सरकारी दस्ताबेजमै प्रश्न तेर्सिएका यस्ता घटनाले के साँच्चै नेपालको पहिचानलाई बाहिरी रूपमा ध्वस्त पारेको हो ? परराष्ट्रविद् डा. मदनकुमार भट्टराईले नेपाली समाज गम्भीरता नभएको गतिछाडा समाज भएकाले यस्ता कुराले केही फरक नपर्ने न्यूजगृहलाई बताए । ‘सरकार, परराष्ट्र, नागरिक समाज तथा आम नागरिक कोही गम्भीर छैन । आन्तरिक र बाह्य रणनीति बनाउने हाम्रो चलन छैन,’ पूर्वराजदूत एवम् पूर्वपरराष्ट्र सचिव भट्टराईले भने, ‘आफू नै गम्भीर नभएपछि अरूले हामीलाई किन गम्भीर रूपमा लिन्थे र ?’

यस्ता घटनालाई सामान्यीकरण गर्ने चलन भएकाले पनि विदेशीले पनि हामीलाई त्यही रूपमा व्यवहार हुने उनको भनाइ छ । भन्छन्, ‘भएका कमीकमजोरी सुधार्ने, त्यसका लागि रणनीति बनाउने हाम्रो चलन छैन । कुनै पनि विषयमा गम्भीर नभएपछि थप के कुरा गर्नु ?’

तर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार एवम् परराष्ट्र विश्लेषक अरुणकुमार सुवेदी सरकारको बचाउ गर्दै यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमा सरकारको विश्वसनीयतामा प्रश्न नउठ्ने दाबी गर्छन् । ‘आतंकवाद, सम्पत्ति शुद्धीकरण वा लागु औषधजस्ता गम्भीर प्रकृतिका मुद्दा भएको भए हो,’ उनले भने, ‘यो त सामान्य पोलिसीको विषय हो । फेरि, सरकारले दोषीलाई पक्राउ गर्ने र अनुसन्धानको काम पनि भइरहेकै छ ।’

उनका अनुसार दक्षिण एसियाका बंगलादेश, पाकिस्तान जस्ता मुलुकका ठुल्ठुला नेता गिरफ्तार हुँदा समेत अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेन । भन्छन्, ‘हाम्रो त्यस्तो विषय पनि होइन । तर, ती मानिसहरू अमेरिका बस्ने भएकाले अमेरिकीहरूको आन्तरिक सुरक्षाको विषयसँग गाँसिएकोले अमेरिकाले नजिकबाट यो केसलाई हेर्नेछन् । यद्यपि, यसले द्विपक्षीय कूटनीतिक सम्बन्धमा त्यस्तो तात्विक असर पार्छ भन्ने मलाई लाग्दैन ।’ 

उनले विगतमा पनि भ्रष्टाचारको आरोपमा ठुल्ठुला नेताहरू खुमबहादुर खड्का र चिरञ्जिवी वाग्ले जस्ता नेता समातिएकाले अहिले यी नेताहरू समातिनुलाई आश्चर्य मान्न नहुने बताउँछन् । 

त्यसो त प्रहरीले अनुसन्धान अगाडि बढाएपनि तीन शीर्ष नेताको भेटघाटले अनुसन्धान प्रभावित हुन सक्ला भन्ने आम मानिसमा आशंका बढेको छ । विगतमा ३३ किलो सुन काण्ड, सुडान प्रकरण, ललिता निवासको जग्गा प्रकरण, ओम्नी काण्ड तथा वाइडबडी काण्ड सेलाएको जस्तै यो केसमा पनि ठूला नेताहरू छुट्ने र केही कर्मचारी मात्र कारबाहीमा पर्ने भन्दै सामाजिक सञ्जालमा आम नागरिकले टिकाटिप्पणी गरिरहेका छन् । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०५
Weather Update