
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
साउन १६ गते मंगलबार राजनीति, कानूनलगायतका विषयमा मुख्य मुख्य समाचार बने । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गरेपछि मंगलबार प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित गरियो । सोमबार पनि संसद् बैठक बस्न सकेकाे थिएन । इजाजत नदिई वित्तीय कारोबार गरेको र ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको आदेशले ९ महिनादेखि थुनामा रहेका सुनसरी इटहरी १९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मंगलबार जिल्ला अदालतको आदेशलाई उल्टाउँदै थुनामुक्त गर्ने आदेश दिएको छ । यस विषय मंगलबार मुख्य समाचार बन्यो । त्यसैगरी संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भयो । सरकारले शिक्षा विधेयक (शिक्षा ऐन) लाई संसदमा पेस गर्नका लागि मन्त्रिपरिषद्बाट पारित गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यी बाहेक मंगलबार बाढीपहिरो, केही नेताका अभिव्यक्ति, संसदीय समितिका बैठकका समाचार पनि मुख्य मुख्य बने ।
०००
सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ । मंगलबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका छन् । सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको उनले प्रष्टयाए ।
०००
संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रश्तावित राजदूतबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
०००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले सो स्पष्टीकरण दिएका हुन् । बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुसी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए । जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए ।
०००
नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताएका छन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले निर्यात सम्भावना भएका वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार पाउन सार्वजनिक, निजी र दातृनिकायले भुमिका महत्वपूर्ण हुने बताए ।
०००
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारीसाधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सार्वजनिक तथा निजी सवारीसाधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता गरे ।
०००
निर्माण व्यवसायले निर्माण यन्त्रहरु तेस्र्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।
०००
संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । मंगलबार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताए ।
०००
नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आगामी शनिबार हुने भएको छ । स्विचब्याक नेपाल र हिमाल सिंगल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटी पम्प फेस्ट आगामी शनिबार हुन लागेको हो । पेडल नचलाई साइकलमार्फत मानव निर्मित ट्य्राकमा उकालो ओरालो गर्ने रोचक कला हो पम्प ट्रयाक । पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् । उक्त पम्प ट्रयाक फेस्टिभल ललितपुरको वडा–१ स्थित गुसिगंलको बाग्मती किनारमा हुनेछ ।
०००
सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।