
काठमाडौं— नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करलाई उन्मुक्ति दिने गलत मनसायले एमालेले छानबिन समिति माग गरेको बताएका हुन् ।
उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए । उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए ।
उनले भने,‘उहाँहरूले छानबिन समिति बनाउनैपर्छ भन्नुभएको छ । सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ । अपराधी पक्रेका छन् । छापा मारिएको छ । सुन गाल्ने मेसिन गिरफ्तारमा परेका छन् । यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिनेमा उहाँहरू हुनुहुन्छ । सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनसायसहित उहाँहरूको नियतमा आशंका छ ।’