News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन १४ गते आइतबार राजनीति, सुरक्षा, कानून, शिक्षा विषयका समाचार मुख्य मुख्य बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटाली भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रम सुरु गरेका छन् । आइतबार बाढीपहिरो, सय किलो सुन तस्करी प्रकरण, संसदीय समितिका बैठक, कोशी प्रदेश सरकार गठनका लागि सत्तारुढ शीर्ष नेताहरूको छलफल पनि मुख्य समाचार बने । त्यसैगरी लम्की स्कीन रोग नियन्त्रण, समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी संगठनको मोर्चा घोषणा, संघीय शिक्षा ऐनलगायत पनि मुख्य समाचार बने । आइतबार यी बाहेक केही नेताहरुको अभिव्यक्ति पनि मुख्य समाचार बने ।

०००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन तस्करी गरी भित्र्याएको आरोपमा पक्राउ परेका १८ जनालाई उच्च अदालत पाटनले १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा १०० किलो सुन भित्र्याएको थियो । उक्त सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो । त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको हो ।

०००

सांसदहरुले नेपाल तस्करहरुको स्वर्णभूमि बनेको बताउँदै नेपाली जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरु नेपाल तस्कहरुको लागि स्वर्णभूमि बन्नु राम्रो नभएको बताएका हुन् । उनीहरुले पछिल्लो समय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले मुलुकको साख गिरेको बताए । उनीहरुले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री र मन्त्रालयहरुलाई बोलाएर छलफल गर्नुपर्ने र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरे ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारविरुद्ध र सुशासनको पक्षमा गरेका महत्त्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताए ।

०००

नेकपा–एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादी मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५औं सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताए । उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताए ।

०००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् । उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए । सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए ।

०००

शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोक राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका हुन् । उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरे । 

०००

१९औं एसियाड सुुरु हुन करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्नो तयारीमा तीव्रता दिइरहेको छ । चीनको हानझाउमा शहरमा आगामी सेप्टेम्बर २३ देखि सुुरु हुने एसियाडमा नेपालका २९ खेलका २ सय ३४ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् । यीमध्ये कराँते, तेक्वान्दो र बक्सिङलाई पदक सम्भावनाको हिसावले पहिलो प्राथमिकतामा राखिएको छ ।

०००

नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेका कार्यको अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेको कार्यको पछिल्लो अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको हो । सार्वजनिक प्रतवेदनमा जलवायु परिवर्तनबाट अहिलेसम्मका असर, त्यसको चुनौती र समाधानका उपाय औंल्याइएको छ ।

०००

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए । एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

०००

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताएका छन् । आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराई समिति बनेको तीन महिना पूरा हुँदा समेत समिति सभापति चयन नभएको भन्दै चाँडो समिति सभापति चयन गर्न माग गरे ।

०००

समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले सरकारले ‘एकीकृत सामाजिक विकास ऐन’ को व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद् प्रतिनिधि सभा अन्तगर्तको महिला तथा सामाजिक विकास समितिको बैठकमा बोल्दै उनले सो ऐनको आवश्यताबारे सरकारको ध्यानाकर्षण गराए । उनले कानूनी अभावका कारण एकद्वार प्रणालीमा नआउने संघ, संस्थाहरुलाई परिषद्ले कारबाही गर्न नसकेको स्पष्टीकरण समेत दिए ।

०००

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् । आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरुसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताए ।

०००

खानेपानी मन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेश लगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताएका छन् । आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने बताए । उनले डोकोमा पानी बोकेर खानेपानी खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजीकरण गर्ने बताए ।

०००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति आएको बताएका छन् । आइतबार आइबिएन मिडियाले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीति पछिको छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिमा आएको सुधार तथा वर्षान्तमा बैंकहरुमा देखिएको तरलता सहजताले राष्ट्र बैंकलाई आगामी वर्ष सहज हुने देखेर लचिलो मौद्रिक नीति अपनाएका बताए । उनले राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई साढे छ प्रतिशत बनाउनु नै लचकता अपनाउनु भएको संकेत गरे ।

०००

निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका छन् । आइतबार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका हुन् । महासंघले सोमवार प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर धर्ना दिने बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका मागहरुलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुलाई ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:४५
Weather Update