
काठमाडौं— नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले गैरकानुनी सम्पत्ति आर्जनको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ ६९ पैसा मात्र रहेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।
त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगको अभियोगपत्रमा पुरीले गैरकानुनी आर्जन गरेको सम्पत्ति असुल गर्न माग गरिएको छ । अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।