
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुँजीवादका कारण राज्यको अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । आइतबार काठमाडौंमा समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा दलाल पुँजीवादले अर्थतन्त्रमा ठूलो समस्या खडा गरेको टिप्पणी गरेका हुन् ।
‘समाजवादको कुरा गर्दा यो कुरा बुझ्नु पर्छ कि दुई वटा नाम क्रियाशील छ, एउटा पुँजीवादी व्यवस्था र अर्को समाजवादी व्यवस्था, हाम्रो देशमा पनि दलाल पुँजीवादले धेरै ठूलो समस्या खडा गरिरहेको छ,’ उनले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा हाबी छ, राज्यको प्रशासनमा पनि हाबी छ, हाम्रो व्यवस्थालाई अत्यन्त कुरुप बनाउने कार्यमा पनि त्यो जिम्मेवार छ ।’
उनले नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गर्न र नेपालको अर्थतन्त्रलाई समाजवादको दिशामा लान चाहेको बताए । नेपालको शिक्षा प्रणलीदेखि लिएर स्वास्थ्य प्रणालीसम्म समाजवादको मान्यता अनुरुप अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।