
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू टुलुटुल हेरेर बस्नुबाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले बजेटमा उल्लेख भइसकेपछि कमा र हलन्त पनि फेर्न नपाइने रहेछ । कि अब संविधान संशोधन गर्नु पर्यो या राजीनामा दिनु पर्यो भन्दै उनले यी दुईबाहेक अरू विकल्प नभएको बताए ।
‘मलाई के हेरेर बसेको छस् ? भनेर सोध्छन्, म टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न नसक्ने अवस्थामा पुगे, कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बजेट पेश भएपछि कमा पनि फेर्न पाइदैन, सरकार ढल्ने रहेछ, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु,’ उनले भने ।
मन्त्री किरातीले नेपालमा सरकारी संयन्त्रको काम गराई निकै झन्झटिलो भएको बताउँदै काम गर्न ज्यादै घुमाउरो प्रक्रिया पूरा गर्नु पर्ने दुखेसो पोखे । ‘बुद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौँ भनेर क्याविनेटमा लगेँ, प्रधानमन्त्री पनि सकारात्मक हुनु भयो, तर फेल भयो,’ उनले भने, ‘किन भने हाम्रो अर्थ मन्त्रालय कति डलर आउँछ भिसाबाट भनेर हिसाब गरेर बसेको रहेछ, हाम्रो सोच जमाना अनुसारको छैन ।’
मन्त्री किरातीले पर्यटन र संस्कृति नीतिमा नै परिवर्तन गर्नु पर्ने र सबै सरोकारवालाहरूको पक्ष त्यहाँ हुनु पर्ने बताए । यद्यपि, यो पुस्ताले निराश नबनी अघि बढे केही गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो ।