News Griha :: न्यूजगृह
बालुवाटारमा शीर्ष नेताबीच यी विषयमा भयो छलफल
फाइल तस्बिर

काठमाडौं— संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए ।

साथै सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । सो विषयमा समेत उनीहरुबीच सकारात्मक छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:२५
Weather Update