
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बुधबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
असार १० गते बुधबार राजनीति, कानुन, सुरक्षा अपराध, बाढीपहिरोलगायतका विषयका समाचार मुख्य मुख्य बनेका छन् । नेकपा एमालेले संसदमा १०० किलो सुन तस्करी प्रकरणको विषय उठाउँदै सरकारको जवाफ माग गर्यो । एमालेले संसद् बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै सोमबार १ बजेका लागि बोलाएका छन् । बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि चर्चा पायो । जेठ २ गतेबाट सुरु भएको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । त्यसैगरी कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको सुनुवाइ हेर्दाहेदैमा रहेको छ । लम्पी स्किन रोग, सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ, इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटघाटलगायत विषयमा बुधबार मुख्य मुख्य समाचार बने । यी बाहेक ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि र १०० किलो सुन तस्करी प्रकरणमा पनि अनुसन्धान, लघुवित्त पीडीतहरूको नयाँ बानेश्वरमा प्रदर्शन पनि बुधबार मुख्य समाचार बनेका छन् ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करीको विषयलाई लिएर वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेल सुन प्रकरण छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद सुचारु हुन नदिने भन्दै बेल घेराउ गरेको हो । बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करलाई कारवाही नभएसम्म संसद सुचारु हुन नसक्ने बताए । एमाले सांसदहरुले सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजीसमेत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
०००
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेस सांसद सुनिल शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा दिनुपर्छ भन्नेकुरा नभनिदिएकाले जथाभावी बोलेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा उनले सांसद शर्माको अस्पताल रहेको र साही अस्पताललाई स्वास्थ्य बीमा दिनका लागि भनिदिन आफूसँग आग्रह गरेपनि आफूले विधिसम्मत रुपमा हुने भनेपछि रिसाएर जथाभावी बोलेको बताए ।
०००
नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अङ्ग कमजोर भएकै कारण सुन तस्करी भएको बताए । बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले एउटा अङ्ग कमजोर हुँदा अर्को सरकारको अङ्गले पक्राउ गर्नु राम्रो पक्ष भएको बताए ।
०००
लघुवित्त पीडितले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । ‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । बुधबार माइतीघर मण्डलामा भेला भई संसद् भवन घेराउ गर्न पुगेका उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् । आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन् ।
०००
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताए । उनले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको बताए । उनले बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको पनि बताए । स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको पनि बताए । बैठकले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा गरेको छ । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिवासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताए ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो सुन प्रकरणबारे संसदलाई चित्तबुझ्दो जवाफ दिन सरकारसँग माग गरेका छन् । उनले हरेक घटनाको अनुसन्धान सुरु गर्ने तर त्यसलाई टुंगोमा नपु¥याउने कामलाई नै निरन्तरता दिने हो भने सरकारको दिनगन्ती सुरु हुने चेतावनी समेत दिए । बुधबार प्रतिनिधि सभा बैठकमा सो सुन प्रकरणबारे आफनो पार्टीले संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको उल्लेख गर्दै सभापति लामिछानेले सो विषयमा छिटोभन्दा छिटो चित्त बुझ्दो जवाफ दिन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले १०० किलो सुन प्रकरण छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो सुन प्रकरण छानबिन गरी तथ्य बाहिर ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराए ।
०००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पछिल्लो सुन प्रकरण अनुसन्धानको नाममा झारा टार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो सामान्य विषय नभएकाले यसको जरैसम्म पुगेर मुख्य नाइके पक्रनका लागि सरकारले विशेष छानबिन समितिनै गठन गर्नुपर्ने माग गरे ।
०००
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका हुन् । उनले कुनै पनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने बताए । उनले तस्करी भएको सुनलाई राज्य आफैंले समातेको भन्दै यसकै आधारमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउनु नहुने बताए ।
०००
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएका बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताएका हुन् । उनले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताए ।