News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार १२ गते मंगलबार ललिता निवास जग्गा प्रकरण विषयको समाचार मुख्य बन्यो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको मुद्दा, पशुपतिनाथ मन्दिरको जलहरी, बजेट,साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन, जिल्ला निर्वाचन कार्यालयको खारेज गर्ने विषयमा संसदमा विरोध, जनता समाजवादी पार्टी (जसपा) ले विधानको अन्तिम मस्यौदा बनाउन समिति गठनको विषय, चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा आएको विषय पनि मुख्य समाचार बनेको छ । त्यसैगरी सोमबार शेयर बजार, बजेटको पक्षमा उभिन नेपाली कांग्रेस र नेकपा माओवादीद्वारा आफ्ना सांसदहरूलाई ह्वीप जस्ता समाचार पनि मुख्य बने । संघीय शिक्षा ऐन, सरकार र विद्यालय कर्मचारीबीचको वार्ता पनि मुख्य समाचार बनेको छ ।

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक राईले विश्वविद्यालयलाई समयसापेक्ष रुपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 
मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए ।

०००

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छिन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि राष्ट्रिय सभा सदस्यहरुलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन् ।

०००

नेकपा एमालेका सांसद एवम् सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुले सरकारको मनसाय स्पष्ट हुने बताए । भट्टराईले पशुपतिनाथ मन्दिरको जलहरीमा नाम नलेखिएको दाबी गर्दै ताम्रपत्रमा नाम लेख्नु सामान्य विषय भएको बताए ।

००
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयमा आवद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवम्  छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाइ अगाडि बढ्नु आवश्यक रहेको बताए ।

०००

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताए । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीँग कुरा गर्दै उनले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताए ।

०००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गरे ।

०००

सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् । सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भत्सर्ना समेत गरिन् ।

०००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । गत असार ४ गते मन्त्रिपरिषद्मा पेश गरिएको सो विधेयक त्यहाँबाट स्विकृति प्राप्त हुने वित्तिकै संसदमा पेश गर्ने उनको भनाइ छ । मंगलबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गरे ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताएका हुन् ।

०००

साफ च्याम्पियनसिपमा नेपालले सान्त्वना जित हात पारेको छ । भारतको बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

०००

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर बालेनसँग लिखित जवाफ मागेको हो ।

०००

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ । मंगलबार पक्राउ परेका पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई कागज गरेर प्रहरीले रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । जग्गा प्रकरणमा प्रहरीले मंगलबार नै सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

०००

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच बुधबार (१२ असार) बसेको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा विद्यालय कर्मचारीका मागबारे गृहकार्य गर्न अर्थ मन्त्रालयले समय माग गरेको नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले भने,‘हाम्रा मागमा विशेषगरी तलबबारे गृहकार्य गर्न अर्थ मन्त्रालयले समय माग गरेको छ आजको बैठकमा । अर्थ मन्त्रालयले गृहकार्य गरी २/३ दिनभित्रमा पुनः वार्तामा बोलाउने भनेको छ ।’ 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:०६
Weather Update