News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन १९ गते शुक्रबार राजनीति, समाज, कानून, सुरक्षालगायतका विषयमा मुख्य मुख्य समाचार बने । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उठाइएका विषयले प्राथमिकता पाए । बाढीपहिरो, संसदीय समितिको बैठक, सय किलो सुन प्रकरणका समाचार पनि मुख्य बने । त्यसैगरी माइतीघर मण्डलामा विद्यार्थीलगायतको आन्दोलन, क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा सन्यासको घोषणा, डेंगु संक्रमण, केही नेताका अभिव्यक्ति, प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षक संघसंगठनहरूको भनाइलगायत समाचार शुक्रबार मुख्य मुख्य बने ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट गर्न निर्देशन दिएका छन् । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि दाहालको सो निर्देशन भएको हो ।

०००

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका विनोदमणि भट्टराईले साउन १५ गते सर्वोच्च अदालतमा आयोगले गरेको कानून विपरीतको निर्णयले आफूलाई अन्याय परेको भन्दै रिट दायर गरेका थिए ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै कार्यान्वयन हुन नसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । ‘मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ, यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु,’ उनले भने ।

०००

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक थापाले आयात कम भएको बताएका हुन् । उनी भन्छन्,‘७७/७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो तर ७९/८० मा जम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ । जसले  गर्दा माग सप्लाईमा केही कमी भएको जस्तो छ । आयात कम भएको हो ।’

०००

काठमाडौं महानगर–१६ माछापोखरीस्थित कर्णाली गेष्ट हाउसको कोठामा सिन्धुपाल्चोक घर भएका २५ वर्षय सुयोग गिरीको शव फेला परेको छ । यस्तै, कास्की जिल्लाको पोखरा महानगर ८ सृजनाचोकस्थित घरको सिँढीमा माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला बस्ने ४८ वर्षीय रुद्र बहादुर नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटार डेरा गरी बस्ने ३५ वर्षीया सीता लिङ्देन आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

०००

नेकपा माओवादी केन्द्रले २२ केन्द्रीय सदस्य थप गरेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३३ प्रतिशत महिला पुर्‍याउन महिला सदस्य थप गरिएको हो । अब माओवादीमा केन्द्रीय कमिटी सदस्य ४०७ जनाको बनेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।

०००

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

०००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरे । लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीकोरुपमा परिचित छन् । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए ।

०००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीमा सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति भएको बताएका छन् । नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष डा.भट्टराईले सत्ताको दुरुपयोग चरम रुपमा बढेको बताए । उनले अहिले राजनीति पार्टीहरूमा खाली पार्टीभित्रको सत्ताको पद, चुनावमा कसले टिकट लिने भन्ने र सत्ताको लाभ कसरी लिने भन्ने प्रवृत्ति बढेकाले जनतामा पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको बताए ।

०००

जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा.सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले बताए । बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ । पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ ।

०००

नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितकाविरुद्ध गतिविधि गरेको उल्लेख गरेकोले कारबाही गरिएको उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २०:५३
Weather Update