
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरुसँग सरकारले गरेका सहमति २४ दिन बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएको छ ।
परिषद्ले सहमति कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा कानुन मन्त्रालयका अधिकारीहरूलाई दबाब दिएको छ ।
त्यसैगरी परिषद्ले संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका सबै समस्या तथा माग समेटिनुपर्ने भन्दै नेता, सांसदहरूसँग भेटवार्ता गरेको छ ।
विशेष गरी गत असारमा सरकारले विद्यालय कर्मचारीसँग गरेका सहमति बजेट कार्यान्वयन पुस्तिकामा उल्लेख नगरे पुनःआन्दोलन सुरु गर्ने नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।
उनले देशभरका विद्यालय कर्मचारीका परिवारसहित काठमाडौंमा कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने,‘हाम्रा मागका विषयमा सरकारले हामीसँग सहमति गरेको २४ दिन भइसक्यो । अहिलेसम्म माग कार्यान्वयन गरेको छैन । बजेट कार्यान्वयन पुस्तिकामा हाम्रा माग उल्लेख गरिएन भने देशभरका विद्यालय कर्मचारीका परिवारसहित पुनः आन्दोलन सुरु गर्छौं ।’
महासचिव योगीले सरकारले माग कार्यान्वयन नगरेर विद्यालय कर्मचारीलाई अलमल्याएको बताए ।