News Griha :: न्यूजगृह
दोलखा अपडेट : दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता

दोलखा— दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिए बेपत्ता भएका चारमध्ये दुईको शव फेला परेको हो ।

पहिरोमा पुरिएकी ५० वर्षीया देवीमाया मगरको शव खोजीको क्रममा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार बिहान १५ महिने बालक प्रिन्स थामीको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो ।

पहिरोमा पुरिएर हराइरहेका टोपाटारमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णबहादुर मगरको अवस्था अज्ञात छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सीता थामी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि काठमाडौं लगिएको छ । सीताको भने सिँगटी अस्पतालमा उपचार भइरहको छ ।

गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:३४
Weather Update