News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन १२ गते शुक्रबार राजनीति, कानुन, सुरक्षा अपराध, समाजलगायतका विषयका समाचार मुख्य बनेका छन् । विशेष गरी कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा नयाँ सरकार गठनका लागि आह्वान,१०० किलो सुन तस्करी प्रकरण,ललिता निवास सरकारी जग्गा प्रकरण, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण पूरा गरी स्वदेश फिर्तालगायतका समाचारमा सबैको चासो रह्यो । यी बाहेक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार मिटरब्याजसम्बन्धी विधेयन प्रमारणीकरण,लम्की स्किन रोग,विभिन्न नेताहरूका अभिव्यक्ति पनि मुख्य समाचार बने । सुनसरीको धरानलगायत केही शहरमा डेंगुको संक्रमण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावितलगायतका खबर पनि शुक्रबार मुख्य मुख्य बनेका छन् । 

०००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान उनी इटालीको भ्रमण सकेर स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरू पुगेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको थियो । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी साउन ६ गते इटाली प्रस्थान गरेका थिए ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए ।

०००

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र  दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

०००

राष्ट्रिय सभाका सत्तारुढ सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यता औंल्याएका छन् । सत्तारुढ नेपाली कांग्रेस राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरूले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरूको तथ्य पत्तालगाई बाहिर ल्याउन संसद् र संसदीय समितिहरूले कडा कदम चाल्नुपर्ने बताए । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुनेगरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताए । पछिल्लो सुन काण्डले झनै मुलुकको मानसम्मान घटेर जाने सम्भावना बढेर गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला सबै पक्षसँग बसेर छलफल गर्न आवश्यता रहेको बताए ।

०००

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

०००

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि स्थगित भयो । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो ।

०००

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सरकार, नियामक निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताए । शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालले सहुलियतपूर्ण कर्जा र अनुदान पाइरहेको उल्लेख गर्दै नेपाल स्तरोन्नति भइसकेपछि पाउँदै आएको अनुदान हट्दै जाने भएकाले त्यसबारेमा सबै निकायले सोच्नुपर्ने बताए ।

०००

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा ५८औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनल जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताउँदै नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्वपूर्ण रहेको बताए । उनले रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताए ।

०००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जञ्जालहरूलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याए ।

०००

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता,अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए ।

०००

वायुसेवा सञ्चालक संघ,नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् । उनले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताए ।

०००

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालमा सफल रूपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन् । बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै सांसद चौधरीले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा विजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:४९
Weather Update