News Griha :: न्यूजगृह
रामेछापमा लम्पी स्किन रोगबाट ३८१ चौपाया मरे,२१ हजार संक्रमित

रामेछाप— रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ ।

पशु प्राविधिक रोहिणी चापागाईँकाअनुसार रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको छ । 

दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन । दोरम्बा सैलुङ्गका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने,‘दोरम्बा सैलुङ्गमा तथ्यांक संकलनको तयारी गर्दैछौँ ।’

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् ।

रोगबाट किसानले करोडौं रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए । रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ ।

गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:५१
Weather Update