News Griha :: न्यूजगृह
हेपाटाइटिस : के हो ? कसरी बच्ने ? र रोकथामका उपायहरू 

काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा हेपाटाइटिसका धेरै बिरामी रहेको बताएका छन् । “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ शुक्रबार विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै गर्दा डाक्टर पुनले अहिले नेपालमा हेपाटाइटिसको प्रभाव केही कम भएको बताए ।  

उनले भने, ‘हेपाटाइटिसका बिरामीहरू धेरै छन् । विशेष गरि वर्षात्को समयमा फैलने हेपाटाइटिस छ त्यो 'ए' र 'ई' हो त्यो वर्षेनी देखिने गर्छ । हेपाटाइटिस 'बी' र 'सी' त्यो जुन सुकै बेलामा पनि देखिन सक्छ। यो चाँहि मानिसबाट मानिसमा सर्ने हो । कुनै लक्षण विना कुनै कारणले आवश्यकता परेर परिक्षण गर्दा देखिन सक्छ ।' 

डा. पुनले परालको आगो जस्तो फैलिरहेको हेपाटाइटिस 'बी' अहिले केही हदसम्म नियन्त्रणको अवस्थामा रहेको पनि बताए ।डा. पुनले हेपाटाइटिस 'ई'बाट गर्भवती महिलालाई  विशेष असर पार्ने भएकोले सचेत हुनु पर्ने पनि बताए । उनले भने, ‘हेपाटाइटिस ई गर्भवती महिलामा विशेष देखिने गरेको छ । खाने कुराहरूबाट सर्ने भएको हुनाले छिटै नै यो रोग महिला तथा बालबालिकालाई लाग्ने गर्दछ । यसको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो ।' 

डा. पुनले हेपाटाइटिस भाइरसले मानव शरीरमा रहेको महत्वपूर्ण अंग कलेजोमा असर गर्ने हुँदा यो रोगलाई खतरनाक मानिने हुँदा यसतर्फ सचेत रहनु पर्ने बताए । पाँच प्रकारका हेपाटाइटिस भाइरस (‘ए’‘बी’, ‘सी’, ‘डी’, ‘ई’) मध्ये पनि हेपाटाइटिस ए र बी लाई बढी खतरनाक भाइरस मानिने उनको भनाइ छ ।  

विश्व हेपाटाइटिस दिवस र कलेजोको सुरक्षा 
स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको संक्रमण गराउने हुँदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै क्यान्सर सम्म गराउने हुँदा यसबारे सचेतना जगाउने हिसाबले आजको दिनमा विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । 

संसारभर पनि सबैभन्दा धेरै हेपाटाइटिस 'बी'बाट मानिसहरू ग्रसित बनेको तथ्यांक रहेको छ । विषाणु सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । त्यसमा पनि हेपाटाइटिस 'बी' र 'सी'लाई मौन महामारी मानिदै आएको पाइन्छ । मुख्यगरी लागूपदार्थ दुर्व्यसनी, एचआइभी विरुद्ध संघर्ष गरिरहेका मानिसहरू, बालबालिका र सीमान्तकृत समूहमा यो रोगको संक्रमण धेरै हुने गरेको छ ।

हेपाटाइटिसका लक्षणहरू
-ज्वरो आउनु

-शरीर पहेँलो हुनु

-वाकवाकी, उल्टी हुनु

-खान मन नलाग्नु

-जीउ दुख्नु

-अत्याधिक थकान महसुस हुनु

-पिसाब पहेँलो हुनु 

-पेट दुख्नु,

-शरीर चिलाउनु आदि हुन् । 

रोकथामका उपायहरू
-शरीरमा रोग लाग्न नदिने

-दूषित पानी तथा खानेकुराको सेवन नगर्ने 

-खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने 

-सफासुग्घर बस्ने 

-फलफूल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने 

-उमालेको पानीको मात्र सेवन गर्ने 

-बच्चालाई हेपाटाइटिसविरुद्धको खोप लगाउने ।  

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:५६
Weather Update