
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
साउन २१ गते आइतबार राजनीति, समाज, कानून, शिक्षा,सुरक्षालगायतका विषयमा मुख्य मुख्य समाचार बने । ललिता निवास सार्वजनिक जग्गा प्रकरणको विषयमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खोलिदिएको छ । राजश्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणका फाइल नेपाल प्रहरीलाई बुझाएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले बोलेका विषय पनि आइतबार मुख्य मुख्य समाचार बने । यी बाहेर संघीय शिक्षा ऐनको विधेयकप्रति शिक्षक सरोकारवालाको विरोध, बाढपहिरो, एकीकृत समाजवादी पार्टीको बैठक, सार्वजनिक कार्यक्रममा विभिन्न नेताहरूको अभिव्यक्ति पनि मुख्य मुख्य समाचार बने ।
000
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न तत्कालीन मन्त्रिपरिषद्का पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । तत्कालीन सरकारको नेतृत्वमा २०६६/६७ सालमा माधव नेपाल र २०६९ सालमा डा.बाबुराम भट्टराई थिए । यसअघि अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
000
राजस्व अनुसन्धान विभागले सय किलाे सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ । आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी गरेको हाे । विभागले आइतबारमात्र सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । साउन २ गते विभागले त्रिभुवन विमानस्थलबाहिरबाट सय किलाे सुन बरामद गरेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
000
सत्तारुढ दल नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले संसदमा पेश गरिएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । उनले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नलाई आम माफी दिने गरी सरकारले ल्याएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार भएको बताएका हुन् । आइतबार काठमाडौंमा संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयक’हरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढ्ने बताए ।
000
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सबै प्रदेशका सात वडामा जाने बताएका छन् । यस्तै, गृहमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् । काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा भए पनि पार्टी कामका लागि वडा तहमा जाने बताएका हुन् । ‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु, ती वडामा जनताको स्थिति, पार्टीको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु, सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जी जानुहुन्छ,’ उनले भने ।
000
न्यापालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की शनिबारदेखि सेवा निवृत्त भएसँगै उनले नेतृत्व सम्हाल्ने भएका हुन् । पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्त दुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरूसँग छलफल गरेर तत्कालीन र दीर्घ कालीन गर्न कामहरू तय गर्ने बताए ।
000
नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन् । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको नेतृत्व दिएको छ भने अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै पम्फा भुसाल– जनवर्गीय संगठन इञ्चार्ज, वर्षमान पुन– विशेष प्रदेश इञ्चार्ज, चक्रपाणि खनाल– कोशी प्रदेश इञ्चार्ज, लीलामणि पोखरेल– मधेश प्रदेश इञ्चार्ज, जनार्दन शर्मा– बागमती प्रदेश इञ्चार्ज, देवेन्द्र पौडेल– गण्डकी प्रदेश इञ्चार्ज, हितमान शाक्य– लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादव– कर्णाली प्रदेश, डिलाराम आचार्य– सुदूरपशिम प्रदेश इञ्चार्ज तोकिएका छन् ।
000
दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहती भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताए । उद्धार टोलीहरू घटना स्थलमा पुगेका तथा थप टोलीलाई घटना स्थलमा परिचालन गरिएको उनले जानकारी दिए । दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताए । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्याउन अर्को रेल पठाइएको छ । सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुई वटा रेल आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए । घटनामा एक सय ५० जना घाइते भएका थिए । सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो ।
000
भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।
000
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यतिखेर दुई वटा काम सँगसँगै अगाडि बढाइरहेको छ । एक, विद्यालय कर्मचारी र सरकारबीच भएका विभिन्न सहमति कार्यान्वयन गराउने र दोस्रो, संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका हकअधिकार सुनिश्चित गराउन दबाब दिने । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारी र सरकारबीच भएका सहमति कार्यान्वयन गराउन आफूहरू दिनहुँ लागिपरेको न्यूजगृहलाई आइतबार जानकारी दिए । उनी भन्छन्,‘विद्यालय कर्मचारी र सरकारबीच वार्तापश्चात प्रतिवेदनसहितको सहमति हाल अर्थ मन्त्रालयको बजेट स्रोत व्यवस्थापन महाशाखामा रहेको छ । हामी त्यसलाई कार्यान्वयन गराउन दबाब दिइरहेका छौं ।’ अध्यक्ष तिवारीले अर्थमन्त्रालयअन्तर्गतको बजेट व्यवस्थापन महाशाखाबाट २/३ भित्र टुंगो लगाउने जानकारी पाएको पनि न्यूजगृहलाई जानकारी दिए । त्यसैगरी संयुक्त विद्यालय कर्मचारी आन्दोलन २०८० पश्चात वार्तामा समावेश भएपछि अन्य घटकको उपस्थिति कमी हुँदै गएकाले सक्रिय भइदिन अध्यक्ष तिवारीसहित महासचिव शान्तिनाथ योगीले आग्रह गरेका छन् । विद्यालय कर्मचारीको सेवा, सर्त, सुविधा संघीय शिक्षा ऐन २०८० मा समावेश गराउनका लागि सबै राजनीतिक दलका प्रमुख सचेतकको ध्यानाकर्षण गराउँदै संघीय संसदअन्तर्गतको शिक्षा समितिमा (मिनी संसद्) जोडतोडले आवाज उठान आग्रह गरिएको अध्यक्ष तिवारीले जानकारी दिए ।
000
लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएका छन् । लामा पूर्वराज्यमन्त्री तथा तत्कालीन संविधान सभा सदस्य हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको स्रोतले जनाएको छ ।