News Griha :: न्यूजगृह
शृङ्गारका सामग्री आयातमा अर्बौं खर्च, फेसक्रिम आयतमै ७८ करोड खर्च 

काठमाडौं— दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च हुँदै आएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारका सामग्री आयातमा ठूलो धनराशि विदेशिएको हो । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यी सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख रुपैयाँ बाहिरिएको थियो । फेसक्रिम आयतमा ७८ करोड छ लाख रुपैयाँ विदेशिएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९–८० मा ४६ करोड दश लाख रुपैयाँ मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले २३ करोड चार लाख ८३ हजार राजस्व संकलन गरेको छ । 

एक करोडको सिन्दुर आयात 

विशेष गरी हिन्दु महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख रुपैपाँको सिन्दुर आयात भएको छ । गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्बको कपाल स्याहारका सामग्री आयात 

विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो । 

गत आवमा ६३ करोड २१ लाख रुपैयाँ मूल्यको स्याम्पु आयात भएको छ भने ६९ करोड ७८ लाख मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ । 

त्यस्तै, कण्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २१ लाख बाहिरिएको देखिन्छ । कपाल हेरचारका अन्य वस्तु आयातमा एक अर्ब रकम विदेशिएको छ ।

आँखा र ओठ शृङ्गारमा ५५ करोड 

विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख खर्च भएको छ । 

त्यस्तै, अन्य शृङ्गारका सामग्री आयातमा तीन अर्ब १३ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ । 

१६ करोडको टुथपेस्ट

त्यस्तै, विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ । ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:००
Weather Update