
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
साउन १५ गते सोमबार राजनीति, सुरक्षा, कानून, धर्म संस्कृतिलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । सोमबार खीर खाएर खीर दिवस मनाइएको छ । साउनको तेस्रो सोमबार भएका कारण देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गरेपछि सोमबारको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित गरियो । त्यसैगरी मधेस प्रदेश सरकारमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । बैठक बुधबारदेखि सुरु हुनेछ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पशुमा देखिएको लम्पी स्किन रोगबारे गम्भीर चासो राख्दै नियन्त्रणका लागि निर्देशन दिएका छन् । उता डेंगुका कारण धरानमा बिरामी बढेका छन् । सोमबार यी बाहेक बाढीपहिरो, संसदीय समिति बैठक, काठमाडौं महानगरद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भत्काउने तयारी र विभिन्न नेताहरूका अभिव्यक्तिको पनि मुख्य समाचार बने ।
०००
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउन संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।
०००
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरू अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए ।
०००
नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकमीसँग कुरा गर्दै उनले गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने बताए । उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने र प्रमुख प्रतिपक्ष उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने हुनाले संसद बन्दी भएको बताए । उनले सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरु परिरहेको बताए ।
०००
शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताएकी छिन् । सोमबार उनले सरकारले काम गरेकै कारण सुन तस्करहरू पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताइन् । उनले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तीव्र गतिमा अनुसन्धान अघि बढ्ने बताइन् ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे ।
०००
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन् । अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारलाई आग्रह गरे । उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाले पनि सबै नेतालाई बिग्रिएको भन्नु उस्तै हुने बताए ।
०००
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् । सोमबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् । पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
०००
मधेस प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गरेका हुन् । समिम नेपाली कांग्रेसका सांसद हुन् । त्यस्तै श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाएका हुन् । दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरिसकेका छन् ।
०००
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताएका हुन् । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको बताए । उनले संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले राम्रो काम गर्न नसकेको बताए ।
०००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालमा पछिल्लो समय इकमर्स,डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए । उनले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको बताए ।
०००
निर्माण व्यवसायीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सोमबार निर्माण व्यवसायीले सरकारले आयोजनाको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् । निर्माण व्यवसायीले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । व्यवसायीले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस