रोल्पा— गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरूको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्न मै बित्ने गरेको छ । माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ । गङ्गादेवमा हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ ।
सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ । बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेवका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन् । आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ ।
गङ्गादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतीबाटै हुन्छ । आलु गङ्गादेवको मुख्य नगदेबाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरण लगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टीकाराम वलीले बताए । प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उनको भनाइ छ ।
जेठ पहिलो सातादेखि अहिलेसम्म करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ । यसपटक गङ्गादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरि सक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ । यसपटक करिब १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उनले बताए ।
यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौंसम्म पुग्ने गरेको छ । गंगादेव गाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु विकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ । गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ ।
गङ्गादेव गाउँपालिकामा आलु बीउका लागि स्टोरको समस्या भएको हुँदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताए ।
उनले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्याउने समेत लक्ष्य लिइएको बताए। ‘गङ्गादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ । लुम्बिनी प्रदेशभरि यहाँको आलुको चर्चा हुने गरेको छ,’ उनले भने ।