News Griha :: न्यूजगृह
भारतमा धार्मिक द्वन्द्व चर्कियो, गोली लागेर दुईको मृत्यु, ४० बढी सवारीसाधनमा आगजनी
तस्बिर : दैनिक भास्कर

नयाँ दिल्ली— भारतको हरियाणाको नुहमा सोमबार विश्व हिन्दू परिषद् र मातृशक्ति दुर्गा वाहिनीले निकालेको ब्रजमण्डल यात्रामा झडप भएको छ । दुई समूहबीच झडप भएपछि ४० बढी सवारीसाधनमा आगजनी भएको छ । प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो ।

यस क्रममा धेरै मानिस र प्रहरी घाइते भएका छन् । गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नुह जिल्ला प्रशासनले स्थितिलाई नियन्त्रण गर्न अन्य जिल्लाबाट प्रहरी बोलाएको छ भने पूरै जिल्लामा इन्टरनेट पनि बन्द गरिएको छ । जिल्लाको सिमाना सिल गरिएको छ ।

नुहको नल्हाद शिव मन्दिरबाट सुरु भएको ब्रजमण्डल यात्रा फिरोजपुर–झिरकातर्फ गएको थियो । यात्रा तिरंगा पार्क नजिक पुगेपछि त्यहाँ मानिसको भीड लागेको थियो । आमनेसामने हुनासाथ दुई पक्षबीच झगडा र ढुंगा हानाहान सुरु भएको थियो ।

झडपका क्रममा बस पार्क र राजमार्गमा राखिएका ४० भन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:५०
Weather Update