News Griha :: न्यूजगृह
यस्ता छन् दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन ७ गते आइतबार राजनीति, सुरक्षा अपराध, समाज, अर्थतन्त्रलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । चिनियाँ नेता नेपाल भम्रणमा आएका छन् । आइतबार पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । यी बाहेक आइतबार १०० किलो सुन तस्करी र ललिता निवास प्रकरणले पनि आम मानिसहरूको ध्यानाकर्षण गरायो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । त्यसैगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको धर्मसम्बन्धी स्टाटसले आज पनि सामाजिक सञ्जाल तातेको छ । २६ सहसचिवको सरुवा, ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा र केही नेताका अभिव्यक्ति आइतबार मुख्य मुख्य समाचार बने । 

000

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दरमा सामान्य लचकता अपनाए पनि शेयर बजार र घरजग्गा कारोबार सम्बन्धि नीतिलाई निरन्तराता दिएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिँदै यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्थालाई कामय राखेको छ । आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ६८ प्रतिशत घर तथा जग्गाको धितोमा प्रवाह भएको थियो । पछिल्लो दुई वर्षदेखि शेयर बजार र घर जग्गा कारोबारसम्बन्धि कर्जामा राष्ट्र बैंकले कडाई गर्दै आएको छ । त्यो निरन्तरता यो वर्ष पनि कायम राखेर मौद्रिक नीति सार्वजनिक भएको छ ।

000

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आइतबार सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो । उक्त विवादको सुनुवाइ अर्को दिन हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त विवादको प्रारम्भिक सुनुवाइ गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल  इजलासले दूरगामी असर पर्नेगरी काम नगर्न र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

000

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो । ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीे गर्ने अनियमितता प्रकरणमा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ । 

000

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य र वाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो मौद्रिक नीतिले कार्यदिशा अवलम्वन गरी ल्याएको बताएका छन् । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको  २०८०/८१ को मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले उनले राष्ट्र बैंकले मूल्य र वाह्य क्षेत्रको स्थायीत्व कायम राखेर अर्थतन्त्र चलायमान बनाउने उद्देश्य रहेको बताए । उनले वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता वृद्धि गर्नेतर्फ मौद्रिक नीतिले प्राथमिकता दिएको बताए । उनले ठूला कर्जाहरुको अनुगमन तथा नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाई कर्जाको केन्द्रिकरण कम गर्दै लैजाने नीति लिएको बताए ।

000

राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् ।  यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त  सुन हङकङबाट ल्याइएको थियो ।

000

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से उच्च अंकले वृद्धि भएको हो । राष्ट्र बैंकले मौद्रिक नीति शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको छ । उक्त घोषणा भएसँगै नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ । आइतबार कारोबारमा आएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आईतवार कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

000

चीनको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका छन् । उनको नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेको छ । पोलिटब्यूरो सदस्य युआनले सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरे । उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आएका थिए । 

000

संघीय संसद् र प्रदेश सभाले आफूहरुलाई बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार संघीय संसद र प्रदेश सभाको काठमाडौंमा जारी भेलाको १२ बूँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेले सो जानकारी दिए । कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद र प्रदेश सभाका लागि बजेटको व्यवस्था गर्नका लागि सरकारलाई ध्यानाकर्षण गराउने सो निष्कर्षमा उल्लेख गरिएको छ । 

000

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेश सभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन् । उनले अदालतमा विचाराधीन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरुले सो विषयमा छलफल गरेपनि अहिलेनै कुनै निष्कर्षमा पुग्न आवश्यक नदेखेको टिप्पणी समेत गरे । आइतबार काठमाडौंमा आयोजित ‘संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुख घिमिरेले कोशी प्रदेशको सरकार निर्माणबारे आफूहरु सर्वोच्च अदालतको फैसलाको पर्खाईमा रहेको र उसले गर्ने फैसला स्विकार गर्दै अघि बढने समेत स्पष्ट पारे ।

000

काठमाडौंमा लघुवित्त तथा वित्तीय संस्थाविरुद्ध आइतबार पनि प्रर्दशन भएको छ । लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आह्वानमा माइतीघर मण्डलामा आमरण अनसन बस्दै आएका उनीहरुले आइतबार काठमाडौंको थापाथली, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भद्रकालीसम्म र्‍याली निकाल्दै चर्को ब्याँज असुली गर्ने वित्तिय संस्थाहरुलाई खारेज गर्नुपर्ने आफूहरुको अडान दोहोर्‍याएका हुन् ।

000

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिस्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । 

000

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीसाधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।

000

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए । उनले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।  

000

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेका बताएका हुन् । उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका बताए ।

000

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनले आगामी असोजमा नीति अधिवेशन गर्न प्रस्ताव गरे  ।

000

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालीगलोज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए ।

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:००
Weather Update