
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बिहीबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
साउन ४ गते बिहीबार राजनीति,सुरक्षा अपराधलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । बिहीबार पनि १०० किलो सुन तस्करीकै विषयमा मुख्य समाचार बनेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म ७ जना पक्राउ परेका छन् । उनीहरू मध्ये ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि प्राथमिकता पायो । अर्कोतर्फ नेपाली सेनाको संख्या घटाउने बहसबारे राष्ट्रिय सभा बैठकमा छलफल भयो । यी बाहेक नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक, राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति, संसदीय समितिको बैठक र केही नेताका अधिव्यक्ति बिहीबार मुख्य मुख्य समाचार बने ।
000
सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । बिहीबार आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनकी उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् । अहिलेसम्म विभागले एक चिनियाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये बिहीबार सात जनाको म्याद थप भएको हो । बिहीबार पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको एक सय किलो सुन बरामद गरेको थियो ।
000
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गरे । बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरे ।
000
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै गैर–बासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
000
जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए ।
000
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । बैठक मंगलबारदेखि सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा नेता बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय उठेको छ । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका छन् । केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बिहीबार बोल्ने नेताहरूले भ्रष्टाचारजस्तो गम्भीर अपराधमा अभियोग लागेका नेता खाणलाई पार्टीले आफ्नो सदस्यबाट निलम्बन गरेर अपराध अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने माग गरेका छन् । महामन्त्री गगन थापासहित नेताहरूले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग गर्दा संस्थापन पक्षका नेताहरू भने खुलेआम खाणको बचाउमा उत्रिएका छन् । जसकारण सभापति शेरबहादुर देउवाले प्रभावशाली महामन्त्रीसहित नेताहरूले कारबाहीको प्रस्ताव ल्याउँदा समेत बेवास्ता गरेर टार्दै आएका छन् ।
000
पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए । उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए । विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै उनले मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने ल्याउनुपर्ने बताए ।