
काठमाडौं— पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाली सेनाको संख्या पुनरावलोकन हुनुपर्ने तर्क गरेकी छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले द्वन्द्वको समयमा बाध्यताले सेनाको संख्या बढाउनु परे पनि अहिले त्यसको पुनरावलोकन हुनु पर्ने बताइन् ।
‘अहिले युद्ध छैन्, पहिला युद्धको लागि भनेर बढाइएको संख्या सेनाको अहिले पुनरावलोकन हुनु पर्छ कि पर्दैन ?,’ उनको प्रश्न छ । उनले अहिले सेनाले गरिरहेको कामका लागि यो संख्या आवश्यक छ कि छैन् भन्ने कुरा महत्वपूर्ण भएको तर्क गरिन् ।
‘अहिले जे काम गरिरहेको छ सेनाले त्यो काम गर्न त्यति सेना चाहिन्छ भने त भइहाल्यो नि यसमा छलफल गर्नुपर्ने केही कारण नै छैन्, हिजो युद्ध थियो बढायौँ, अहिले चाहिन्छ कि चाहिँदैन् एउटा परिवेश, अर्को पहिला केन्द्रीकृत शासन थियो, अहिले सङ्घीयतामा गएका छौ त्यसले नेपाली सेनाको सङ्ख्यालाई असर पार्छ कि पार्दैन, मैले खर्च घटाउनको लागि संख्या घटाउनु भनेको होइन्, प्रष्ट पार्न चाहन्छु, ’ उनले भनिन् ।