
काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गर्दा एक जना सक्कली परेका छन् ।
‘अपरेसन फोक्सट्रोट’ नाम दिएर सीआईबीले नक्कली डाक्टरमाथि अनुसन्धान गरिरहेको छ । तर सीआईबीले सक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरसमेत पक्राउ गरेपछि उसको अनुसन्धानमाथि नै शङ्का उब्जिएको छ ।
एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले सक्कली डाक्टरलाई तीन दिनदेखि हिरासतमा राखेको छ । यो प्रकरणमा सीआईबीले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा भने जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भइसकेका छन् ।
थुना बाहिरै राखेर शर्माविरुद्ध अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उनी रिहा भएका हुन् । यो प्रकरणमा सीआईबीले ८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये शर्मा थुना बाहिर छन् भने ७ जना सीआईबीको हिरासतमा छन् । ७ जनामध्ये एक जना सक्कली डाक्टर हुन् ।
शर्मा पक्राउ परेकै दिन सीआईबीले थप दुई जना डाक्टरलाई पक्राउ गरेको थियो । जसमा महोत्तरी घर भएका डा. रञ्जितकुमार यादव र त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी थिए । सीआईबीले नक्कली भन्दै पक्राउ गरेका डा. यादव सक्कली डाक्टर हुन् ।
रञ्जितकुमार यादव नाम गरेका अर्कै डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सक्कली डाक्टरलाई पक्राउ गरेपछि सीआईबी र त्यहाँ कार्यरत प्रहरी कर्मचारीको क्षमतामाथि समेत प्रश्न उठेको छ । सीआईबीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य छिन् । गम्भीर गल्तीका बावजुत सक्कली डाक्टर यादवलाई सीआईबीले सुटुक्क रिहा गर्ने तयारी गरेको छ ।
यादव सक्कली डाक्टर रहेको पत्रसमेत नेपाल मेडिकल काउन्सिलबाट सीआईबीमा पुगिसकेको छ । काउन्सिलको उक्त पत्रपछि सीआईबीले डा. यादवलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो ।