News Griha :: न्यूजगृह
BREAKING: सांसद सुनिल शर्मा पक्राउ 

काठमाडौं— प्रहरीले प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनी काठमाडौंको गोल्फुटारबाट पक्राउ परेका हुन् । उनी नेपाली कांग्रेसका सांसद हुन् । 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवासबाटै पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले दाबी गर्‍यो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

सांसद शर्माले सय किलो सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्न गर्दै राजीनामा मागेका थिए । साउन १० गते बसेको संसद बैठकमा उनले सुन तस्करी प्रकरणमा भरियालाई मात्रै पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । 

यो तस्करी प्रकरणमा मुख्य दोषीलाई पक्रन नसकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने बताएका उनले आफू संसदमा अनशन बस्नेसम्मको चेतावनी दिएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:०६
Weather Update