News Griha :: न्यूजगृह
यस्ता छन् दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन १३ गते शनिबार राजनीति तथा केही सामाजिक विषयका समाचार मुख्य मुख्य बनेका छन् । शनिबार सार्वजनिक कार्यक्रम तथा गतिविधि कम भएका कारण न्यून संख्यामा समाचार उपलब्ध भए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्केपछि शनिबार बालुवाटारमा शीर्ष नेताहरुको भेटवार्ता, विश्व बाघ दिवस, एकीकृत समाजवादी पार्टीको विभिन्न बैठकहरू, कोशी प्रदेश सरकार गठनका लागि पार्टी तथा नेताहरुको व्यस्तता, लम्की स्कीन रोग नियन्त्रणमा सुधारलगायतका समाचार मुख्य मुख्य बने । यी बाहेक केही नेताहरुको अभिव्यक्ति पनि मुख्य समाचार बने । 

०००

नेकपा एकीकृत समाजवादीले साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको बताएको छ । एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गरेको हो । पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको बताएका छन् । साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिको बैठक स्थगित गर्ने खतिवडाले बताएका छन् ।

०००
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कोशी प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

०००
सत्तारुढ नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिएको छ ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे ।

०००

पर्यटकीय शहर पोखरामा चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहोर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहोर उठ्न नसकेको हो । पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ ।

०००

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही—घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेमा लमही नगरपालिका— २ बस्ने वर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी छन् ।

०००

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । जसका कारण सो सडक भएर गुड्ने सयौं सवारीसाधन र यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

०००

रोल्पामा विषालु च्याउको खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया विमला बिक रहेकी छिन् । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेको थियो । शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

०००

यही साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

०००

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् । 
एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने,‘नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।’ उनले १०० किलो सुन तस्करी प्रकरणमा सरकार आफूलाई बचाउने र अरुलाई फसाउने खेलमा लागेको पनि बताए ।

०००

विश्व बाघ दिवसको अवसरमा शनिबार विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसवर्ष यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रमअन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गर्‍यो । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बजाइएको थियो ।

 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २१:००
Weather Update