News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

असार ९ गते मंगलबार राजनीति, कानुन, सुरक्षा अपराध, बाढीपहिरोलगायतका विषयका समाचार मुख्य मुख्य बनेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रम, कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चमा बहस, लम्पी स्किन रोग, डीएसपी ठगबहादुर केसी बर्खास्त, सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय पोलिटब्युरो सदस्य युआन च्या च्युनको नेपाल भ्रमण र राजनीतिक भेटघाट, इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनलगायत विषयमा मंगलबार मुख्य मुख्य समाचार बने । यी बाहेक ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि र १०० किलो सुन तस्करी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ । 

०००

नेपाली कांग्रेसका उपसभापति एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए ।

०००

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरिमा फसेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए ।

०००

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर गरे ।

०००

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार भएको बताए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए 

   ०००

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताए । उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए ।

०००

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले एजेण्डा सही र व्यवस्थित रहेको बताउँदै कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताए ।

०००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । मंगलबार बिहान ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा नेपालका प्रतिपक्ष दलका नेता ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिए ।

०००

विज्ञहरुले सरकारले मुलुकको पछिल्लो राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षाविद्त्रय विष्णुराज उप्रेती, गेजा शर्मा वाग्ले, देवीराम शर्माले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसदमा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

०००

गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबै भन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भएपनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ ।

०००

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए ।

०००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।  मंगलबार न्यूज एजेन्सी नेपालसँग आइतबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए । उनले गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:४०
Weather Update