News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन ६ गते शनिबार राजनीति, सुरक्षा अपराधलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् । शनिबार पनि १०० किलो सुन तस्करीकै सेरोफेरोमा सबैको ध्यान केन्द्रित रह्यो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । त्यसैगरी शनिबार जननायक बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा विविध कार्यक्रम भए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको धर्मसम्बन्धी स्टाटसले आज पनि सामाजिक सञ्जाल तातेको छ । काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको र केही नेताका अभिव्यक्ति शनिबार मुख्य मुख्य समाचार बने ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याललगायत नेताहरु विमानस्थल पुगेका थिए ।

०००

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पु¥याउने र बलियो कम्युनिस्ट पार्टी बनाउने बताइन् ।

०००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक रहेको बताएका छन् । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हकहित संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए ।

०००

पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा चेकजाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहको संलग्नता हुन नसक्ने बताए । उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

०००

दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनविद् बैकुण्ठनारायण प्रधान, पर्यटन व्यवसायी उमा खकुरेल, पत्रकार रमेश खड्कालगायतले सो क्षेत्रमा पर्यटन प्रवद्र्धनमा स्थानीय तहले चासो नदिएकोमा चिन्ता व्यक्त गरेका हुन् । पर्यटनविद् प्रधानले गौरीशंकर हिमाल वरपरको क्षेत्र धार्मिक पर्यटनको दृष्टिले पनि संसारका लागि महत्वपूर्ण गन्तव्य स्थल भएपनि त्यसको विकासका लागि स्थानीय सरकारले सरोकारवाला निकायसँग छलफल समेत गर्न नचाहेको गुनासो गरे  ।

०००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए । अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनुपर्नेमा पनि जोड दिए  ।

०००

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्राहलयमा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले बीपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरभुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा लागि परेको बताए ।

०००

नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुने भएको छ । अनुहारमा आउने विभिन्न समस्याहरुको उपचार लागि मात्रै अस्पताल स्थापना हुने भएको हो । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई बिना शुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडांैको नख्खुमा सञ्चालनमा आउने भएको हो । शनिबार उपचार केन्द्रको सिलन्यास भएको हो । साथै वसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज जनरल हस्पिटलमा समेत संस्थाको स्थापना भएको छ । क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरले स्थापना गरेको क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा बन्ने अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णतः निःशुल्क उपचार पाउनेछन् ।

०००

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न आवश्यक भएको बताएका छन् । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्र्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाई गर्न नहुने तर्क गरे । लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २१:१०
Weather Update