News Griha :: न्यूजगृह
वामदेवको ठोकुवा— म गृहमन्त्री हुँदा सुन तस्करी भएन
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभा सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गरेका छन् । 

काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले भने, ‘म पहिलोपटक ०५४ सालमा  गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकार मै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरू उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’ 

गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए । उनले थपे, ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरू छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री, प्रधानमन्त्री पनि कोको हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरू नै मुख्य रूपमा दोषी हुन्छन् ।’

हालै भएको एक सय केजी  सुन तस्करीबारे आफूले थाहा नपाएको उनको जिकिर छ । उनले भने, ‘मैले थाहा पाइनँ । मैले किन थाहा पाउने हो र ? मैले त रेडियोले भनेपछि थाहा पाएको हुँ ।’  

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:२८
Weather Update