News Griha :: न्यूजगृह
काठमाडौं र ललितपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु 

काठमाडौं— काठमाडौं र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेका ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई काठमाडौंको शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ ।

हिजो साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो ।

टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामंगल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २०:१०
Weather Update