News Griha :: न्यूजगृह
सात वर्षपछि नलगाडको डीपीआर तयार

जाजरकोट— नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

३१ महिनाभित्र पूरा गर्नुपर्ने डीपीआर सात वर्षपछि तयार भएको हो । २०७३ सालमा ३१ महिना भाका राखेरअस्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले डीपीआर बनाउने ठेक्का पाएको थियो । 

परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इन्जिनियर्स एसोसिएसनलाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको आयोजनाका निर्देशक सुनिल पौडेलले बताए । 

पटकपटक म्याद थपेर ताकिता गरेपछि डीपीआर प्रतिवेदन तयार भएको पौडेलको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लाई पूर्णता दिनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको उनले बताए ।

डीपीआर प्रतिवेदन प्राप्तसँगै नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका)सँग छलफल भएको र छलफल सकारात्मक भएको पौडेलले बताए । उनका अनुसार लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी थालिएको हो । 

छिटोभन्दा छिटो सम्झौता गर्ने तयारी भइरहेको भन्दै पौडेलले चार सय १७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार लगानी जुटाउने प्रयास गरिएको बताए । उनका अनुसार सुरुआतदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो । 

‘अहिले ईआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । ईआईए स्वीकृत हुनेबित्तिकै आयोजना निर्माण प्रक्रियामा लैजाने गरी तयारी थालिएको छ । त्यसका लागि लगानी जुटाउन पहल भइरहेको छ,’ पौडेलले भने । उनका अनुसार आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ ।  

वातावरणीय व्यवस्थापनमा ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । उक्त आयोजना निर्माण साढे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ८ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ । आयोजनाबाट नलगाड नगरपालिकाका ५ र ७, बारेकोट गाउँपालिकाका १, २, ५, ६, ७ र ८ वडा प्रभावित हुनेछन् ।  

    

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:०३
Weather Update