News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बुधबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन ३ गते बुधबार राजनीति, सामाजिक, सुरक्षा अपराधलगायत विषयका समाचार मुख्य मुख्य बने । बुधबार पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । बैठकमा भुटानी शरणार्थीदेखि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाइयो । त्यसैगरी बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रममा सरिक भएका  छन् । केही दिन उनी पत्नी सीता दाहालको शोकमा थिए । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरे । वृद्धवृद्धालाई आश्रय दिइरहेको भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको समाचार पनि बुधबार मुख्य बन्यो । यी बाहेक काभ्रेको साँगामा बस दुर्घटना, संसदीय समितिको बैठक, सेनाको संख्या कटौतीको बहसबारे राप्रपाको आपत्ति, एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएईलाई तीन विकेटले हराउँदै विजयी, एमाले अध्यक्ष  केपी शर्मा ओली कम्बोडिया गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाईलगायतका समाचार बुधबार मुख्य मुख्य बने । 

000

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार ६१औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको बताए । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे ।

000

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरुका प्रतिनिधिहरुको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

000

व्यावसायिक फुटबल खेल्न इजरायलतर्फ लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो । उनी इजरायलको क्लब हापोएल रानानाबाट यूरोपमा लिग खेल्दै छिन् ।

000

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका हुन् । उनले यस विषयमा पुनःविचार गर्नुपर्ने बताए । बाग्मत्री प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए । उनले सरकार र पार्टीबीचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृह मन्त्रीलाई धन्यवाद दिएको प्रति आक्रोश व्यक्त गरेकी छिन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आलोचना गरिन् ।

000

ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयसँग काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित थिए ।

000

नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए । उनले नेपालको समयानुकूल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए ।

000

उच्च अदालत पाटनले काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौं महानगरपालिकाको नाममा आदेश गरेको हो । अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि रोखिएको छ ।

000

लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरे । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चिततासमेत बढेर गएको छ । प्रधानमन्त्री प्रचण्डले आम मानिसको मनमा रहेको जिज्ञासालाई निरुपण गर्दै भने,‘केही समयभित्रै आयोजनाको शिलान्यास हुन्छ, अब कुनै पनि बाहानामा ढिलाइ हुँदैन र गरिँदैन ।’

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:१०
Weather Update