काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृह मन्त्रीलाई धन्यवाद दिएको प्रति आक्रोश व्यक्त गरेकी छिन् ।
पार्टी मुख्यालय सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै खतिवडाले आक्रोश व्यक्त गरिन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आलोचना गरिन् ।
उनले भनिन्,‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरुको बोली फुटदैन् । लागेको होला उहाँहरुलाई पार्टीभित्रको फरक समूहको फरक गुटको मान्छेलाई खुइलाउनलाई डेक्चीमा बसालेको तातो पानीले हात तलमाथि हुँदा आफूलाई मन परेको मान्छेतिर पनि खनिनसक्छ त्यो पनि विचार पुर्याउनुहोला ।’
केन्द्रीय सदस्य खतिवडाले कांग्रेसको हरेक व्यक्तिको गतिविधिहरु नियालेको पनि बताइन् । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको जिकिर थियो ।