
गोरखा— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनालाई जलविद्युतमा मात्रै सीमित नगर्ने सोचसहित बृहत्तर विकासको अवधारणामा अगाडि बढाउन प्राधिकरण बनाउनुपर्ने बताएका छन् ।
बुधबार आयोजनाको फिल्ड कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा नै आयोजनाका लागि विकास समिति र प्राधिकरणको अवधारणा ल्याएको बताए ।
आयोजनालाई बहुपक्षीय लाभ प्राप्त हुने, बेरोजगारीको समस्या समाधान गर्ने र समग्र मुलुकका साथै आयोजना प्रभावितको समेत हित हुने गरी अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए ।
धादिङ र गोरखाको सीमा भएर बग्ने बूढीगण्डकी नदीलाई मलेखुस्थित पृथ्वीराजमार्गबाट दुई किलोमिटर पश्चिममा कुल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ ।
सरकारले वि.सं.२०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी लगानी कि विदेशी भन्नेमा आवश्यक निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पुँजी रहने कम्पनी स्थापना गरेको थियो । कम्पनी दर्ता भए पनि पछिल्लो एक वर्ष थप तयारीका लागि व्यतित भएको बताइएको छ ।