
असार २४ गते आइतबार राजनीति, सुरक्षा अपराध, सामाजिक विषयका समाचार मुख्य मुख्य बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार १८ गते सोमबार विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर अवरुद्ध गर्दै आएको प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारु हुने भएको छ । आइतबार प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको थियो । वार्ता संसद् सुचारु गर्ने विषयमा केन्द्रित भएको थियो । त्यसैगरी सरकारले अन्य प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि छलफल गर्ने भएको छ । उनीहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरेका छन् । त्यसैगरी आइतबार कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणाको अडिओ प्रकरण, ललित निवास जग्गा प्रकरणमा नेपाल सरकारका सचिव पक्राउ, मिटरब्याज पीडितहरू पुनः धर्नामा, विद्यालय कर्मचारीको आन्दोलन जस्ता समाचार प्रमुख बने । यी बाहेक संसदीय समितिका बैठक, नेताहरूका अभिव्यक्ति पनि मुख्य समाचार बनेका छन् ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
सार्वजनिक लेखा समितिले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहिको लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिने भएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा अधिकांश सांसदहरुले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहिको लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए । सांसदहरुले अघिल्लो कार्यकालमा समितिले गरेका निर्णय र निर्देशन एवं दर्ता भएर प्रक्रियामा रहेका र भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहीको लागि सिफारिस गरेका विषय अहिलेको सार्वजनिक लेखा समिति र समितिका सदस्यहरुले जानकारी पाउनुपर्ने माग राखेका थिए । समिति सदस्यहरुको मागपछि समितिले अघिल्लो कार्यकालमा दर्ता भएर प्रक्रियामा रहेका भ्रष्टाचार सम्बन्धीका सबै उजुरी र कारबाहिको लागि सिफारिस गरेका विषयलाई निरन्तरता दिने तयारी थालेको हो ।
०००
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए ।
०००
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गरेको फिल्म कहिले लाग्ने हो ? भन्दै कटाक्ष गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भनेपनि अहिलेसम्म सुरु हुन नसकेको बताए ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको बताए । आइतबार अपरान्ह संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमानलाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहो¥याए । गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद सुचारु गराउन भने सकिने धारणा राखे ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौथो पटक पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । आइतबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रिय सभा बैठक पुनः स्थगित हुन पुगेको छ ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् ।
०००
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् ।आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले अध्यादेश संसदमा रहेको भन्दै आयोगमार्फत मिटरब्याज पीडितहरुलाई न्याय दिने काम नरोकिने बताए ।