News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार १८ गते सोमबार राजनीतिक सामाजिक, आर्थिक, सुरक्षा अपराध, खेलकुद विषयका समाचार मुख्य मुख्य बने । सोमबार सत्ता गठबन्धनले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको, नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा, राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित,गुरु पूर्णिमा, ललिता निवास प्रकरणमा थप दुई जना पक्राउका विषय सोमबार मुख्य समाचार बनेका छन् । त्यसैगरी नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न निर्वाचन आयोगको प्रस्ताव, संघीय शिक्षा ऐन तत्काल जारी गर्न नेपाल समाजवादी विद्यार्थी युनियनको माग, विद्यालय कर्मचारीको आन्दोलन जस्ता विषयमा पनि मुख्य समाचार बने । सोमबार एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी,  कानुन व्यवसायीको आन्दोलन, बाग्मती र लुम्बिनी प्रदेश सभामा प्रस्तुत बजेटबारे छलफलका विषय पनि मुख्य समाचार बने । यस बाहेक विभिन्न नेता तथा सांसदको अभिव्यक्ति पनि चर्चामा रहेका छन् । 

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज  सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

०००

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिभित्र सिँचाइ र जलस्रोत मन्त्रालयको विषय आउनुपर्ने माग गर्दै समिति सदस्यहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । सोमबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेट गरी समिति सदस्यहरुले समितिभित्र सिँचाइ र जलस्रोत मन्त्रालय आउनुपर्ने माग गरेका हुन् । उनीहरुले वर्तमान नियमावलीमा समितिको अधिकार क्षेत्रमा सिँचाइ र जलस्रोत मन्त्रालय नपरेकाले नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको समितिका ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले बताए ।    

०००

सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा कांग्रेसलाई नेतृत्व दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताए । उनले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताए ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । सोमबार स्व.गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए ।

०००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार स्व.गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् । उनले  दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए ।

०००

कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।  जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् । असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

०००

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरुले आवश्यक्ता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।

०००

संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरुलाई पत्र पठाएको छ । नेपाल समाजवादी विद्यार्थी युनियनले संघीय शिक्षा ऐन आउन ढिला गरेका कारण समग्र शिक्षा प्रणालीमा नै असर परेको भन्दै छिटो ल्याउन माग गर्दै प्रतिनिधि सभाका सांसदहरुलाई पत्र पठाएको हो । सोमबार युनियनका नेताहरु सिंहदरबारस्थित संसदमा प्रतिनिधित्व गर्ने दलहरुका संसदीय दलका कार्यालयमा पुगेर सबै सम्बन्धित दलका सांसदहरुका लागि पत्र बुझाएका हुन् ।

०००

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ ।  सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २०:४३
Weather Update