News Griha :: न्यूजगृह
कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने

काठमाडौ— कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एकीकृत समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशीमा आलोपालो सरकार बन्नेछ । उनले पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको बताए ।

उनले भने,‘गठबन्धनमा भएका दलहरूको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सहमति भएको छ । कोशी प्रदेशमा आलोपालो सरकार निर्माण हुने पनि सहमति जुटेको छ । पहिला कांग्रेसले नेतृत्व लिन्छ । त्यसपछि कुन दलको सरकार हुने त्यसमा सल्लाह हुनै बाँकी छ ।’

कोशीमा गत शुक्रबार एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:२७
Weather Update